‘ऋषि धमला जानीबुझी चटक देखाउँछन् कि अज्ञानतावश् ?’
संभवत् दुनियाँले सुल्झाउन नसक्ने गाँठी रहस्य हो यो । कहिले आँसु नआए पनि रोइदिन्छन्, कहिले मन गाँठो पारेरै फिस्स हाँसिदिन्छन्, कहिले सातो जाने गरी तर्सिन्छन् । तैपनि उनले आफ्नो पारा छाड्दैनन् ।
मान्छे हाँसेरै मरोस् कि जे सुकै गरोस्, उनी किस्ता–किस्तामा नयाँ खुराक लिएर हाजिर भइदिन्छन् । यस्तो खुराक, जसले नेपाली समाजलाई काउकुती लगाइरहन्छ । हँसाइरहन्छ । खुसी बढाउने डोपामाइनको ‘क्याप्सुल’ जस्तै छन् उनी ।
यस्तो लाग्छ, ‘ट्रोल’ शब्द उनकै पेवापात हो । इन्टरनेट क्रान्तिपछि कुनै यस्तो समयावधि बाँकी छैन, जहाँ ऋषि धमला हाँसोको पात्र नबनेका हुन् । उसो त ‘ट्रोल’ शब्द प्रयोगमा आउनुअघि पनि उनको मजाक उडाइन्थ्यो । त्यसबेला के भनिन्थ्यो भने, ‘ऋषि धमलाले क्यामेरा देख्नै हुन्न, तँछाडमछाड गरेरै अनुहार देखाइछाड्छन् ।’
हुन पनि कुनै पनि नेताको अन्तर्वार्ता भइरहेको छ भने त्यसको पछिल्तिर चिल्लो कपाल भएका ऋषि धमला गजक्क परेर यसरी उभिएका हुन्थे, मानौँ उनलाई त्यहाँ थपक्क सजाइएको होस् ।
१४ इन्चको श्याम–श्वेत टेलिभिजनमा समाचार हेर्नेले ऋषि धमलालाई त हेर्नै पर्थ्यो । नहेरे पनि उनले आफ्नो अनुहार देखाइछाड्थे ।
समय बदलियो तर ऋषि धमला बदलिएनन् । हिजोजस्तै आज पनि उनी सर्वाधिक हेरिने अनुहारमा पर्छन् । अब त स्थिति यस्तो छ कि ऋषि धमलालाई खोजी–खोजी हेर्नैपर्ने । कुनै रेडियोको विज्ञापनमा ‘नसुने पछि परिन्छ’ भनेजस्तै, ऋषि धमलालाई नहेरे धेरै कुरा छुटे जस्तै हुन्छ ।
जगजाहेर छ, यतिबेला ऋषि धमला पत्रकारबाट नेता भएका छन् । र, काठमाडौंबाट रौतहट पुगेका छन् । मधेशमा उनले धमकेदार इन्ट्री मारेका छन् । उनी फूलमाला र खादाले अनुहार छोपेर साष्टाङ्ग दण्डवत् शैलीमा मतदाता रिझाउँदैछन् । सुकिला–मुकिला धमला धुस्रो–फुस्रो बस्ती–बस्तीमा पुगेका छन्, खेत–खेतमा पुगेका छन् । हिलोमा टेकेका छन्, धुलोमा हिँडेका छन् ।

