काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुनको भाउ तोलामा २ हजार ४ सयले बढेर ३ लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको हो । यो हालसम्मकै सर्वाधिक भाउ हो ।
गत शुक्रबार सुनको भाउ तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो । त्यसको अघिल्लो दिन बिहीबार तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँ थियो । शुक्रबार एकैदिन तोलामा ९ हजार २ सय बढेको थियो ।
त्यसैगरी चाँदीको भाउले पनि आज नयाँ कीर्तिमान कायम गरेको छ । आज चाँदी तो्लाको ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तुलनामा २ सय ९० बढेको हो । त्यसदिन तोलाको ६ हजार १ सय ९० रुपैयाँ थियो ।
महासंघका अनुसार सुनको ७ माघमा तोलाको २ लाख ९५ हजार १ सय, ६ मा २ लाख ८४ हजार ७ सय, ५ मा २ लाख ८२ हजार, ४ मा २ लाख ७७ हजार ८ सय, २ मा २ लाख ७७ हजार २ सय र १ माघमा २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो ।

