काठमाडौं, १३ माघ
पार्टीका तल्ला निकायहरूसँग पनि सुझाव मागेर घोषणापत्र तयार गर्ने जनाउँदै उनले गर्न सक्ने क्षमता, व्यवहारिकता र कार्यान्वयन योग्य कार्यक्रम समेटिएको बताए। हरेक नागरिकको मन छुने, सबै वर्ग, क्षेत्र र समुदायको भावना अटाउने प्रयास गर्नेछ,’ उनले भने, ‘स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाका जनतासामु राख्ने छौं।’
सबै १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार दिएको कांग्रेसले १ सय ६ जना नयाँ उम्मेदवारलाई प्रतिस्पर्धामा अघि बढाएको उनले जानकारी दिए । बागी र विद्रोही उम्मेदवारी दिएका नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन पनि उनले आग्रह गरे। ‘जहाँ–जहाँ बागी उम्मेदवारी परेको थियो,’ उनले भने, ‘पार्टीले औपचारिक निर्देशन दिएको छ, धेरैजसो ठाउँमा फिर्ता समेत भइसकेको छ।’
निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै चालिसेले भने, ‘राष्ट्रिय झन्डाको मर्यादा र सम्मान कायम गर्न सबै नेता–कार्यकर्तालाई निर्देशन दिइसकिएको छ।’
जित्नकै लागि त उठेको हुँ: डा. शेखर
कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीका नेता तथा कार्यकर्ताको भावना र चाहना अनुसार प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेको बताएका छन्।
पार्टीको विशेष र नियमित महाधिवेशनका विषयमा उल्झन बढ्दै गएका बेला उम्मेदवार नबन्ने तयारीमा रहेका कोइराला अन्तिम समयमा मनोनयन दर्ताक लागि विराटनगर पुगेका हुन्।
‘कसैले चुनाव लड्न भनेका थिए, कसैले नलड्न। सबै पार्टीभित्रकै साथीहरू हुनुहुन्थ्यो,’ उनले मंगलबार केही पत्रकारहरूसँग कुरा गर्दै भने,‘माघ ६ गते बिहान साढे नौं बजेसम्म त म यत्तिकै बसिराथे। संसदीय बोर्डका साथीहरुले संवाद गर्नुभयो र चुनाव लड्ने निष्कर्षमा पुगे।’
टिकट वितरणमा धेरै थोरै समस्या संधै हुने स्विकार गर्दै डा. शेखरले प्रकाशमान सिंह र डा. शशांक कोइरालालाई उम्मेदवार नबनाएकोमा नमज्जा लागेको सुनाए। कांग्रेसको आन्तरिक राजनीतिक विषयमा प्रवेश गर्न नचाहेका कोइरालाले सबैको ध्यान फागुन २१ गतेको निर्वाचनमा केन्द्रीत रहेको बताए।
मोरङ–६ बाट उम्मेदवार बनेका शेखरले पार्टीका नेता तथा कायर्कर्तासहितकाहरूसँगको भेटघाट गरेको बताए। व्यक्ति–व्यक्तिबीच नभएर पार्टीका उम्मेदवारहरूबिचमा नै प्रतिष्पर्धा हुने तर्क गर्दै उनले भने, ‘हामी सबै दलका उम्मेदवार हौं र छौं। एकअर्काबिच प्रतिस्पर्धा हुन्छ।’ विगतमा भेटघाट र घरदैलो प्रभावकारी बनेपनि अहिले डिजिटल प्रचारले मतदाताहरूलाई प्रभावित गरेको उनले बताए। निर्वाचनको परिणामका विषयमा पत्रकारहरुको प्रश्नमा उनले भने,‘जित्नकै लागि त उठेको हुँ।’
पार्टीको विशेष महाधिवेशनबाट आएको नयाँ कार्यसमितिले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ। त्यस विषयमा राखिएको जिज्ञासामा शेखरले फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुने र त्यसपछि पार्टीको विधान र संसदीय दलले बाँकी कुरा निर्णय लिने बताए।

