एजेन्सी – दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ९ विकेटले हराउँदै ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ।
दक्षिण अफ्रिकाले ८ खेलपछि वेस्ट इन्डिजलाई टि ट्वान्टीमा हराएको हो। सेन्चुरियन पार्कमा १ सय ७४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १ विकेट गुमाउँदै १३ बल बाँकी रहँदै खेल जित्यो।
कप्तान एडेन मार्करामले अविजित ८६ रन बनाए। उनले ९ चौका र ३ छक्का प्रहार गरे। मार्करामले लुआन–ड्रे प्रिटोरियससँग पहिलो विकेटका लागि ८३ रन र रायन रिकेल्टनसँग दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गर्दै जित सहज बनाए।
प्रिटोरियसले २८ बलमा ६ चौका र १ छक्कासहित ४४ रन बनाए । रिकेल्टनले ३२ बलमा १ चौका र २ छक्कासहित अविजित ४० रन जोडे।
त्यसअघि ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो। ब्रान्डन किङले छिटो २३ रन बनाएर राम्रो सुरुआत दिलाए पनि मध्यक्रम लगातार धराशायी भयो।
शिम्रोन हेटमायरले सर्वाधिक ४८ रन बनाए भने रोभम्यान पावेलसँग छैटौं विकेटका लागि ७४ रनको साझेदारी गरे। तर अन्य ब्याटर लामो समय टिक्न सकेनन्।
दक्षिण अफ्रिकाका बलरमध्ये जर्ज लिन्डेले ३ तथा केशव महाराज र कोर्बिन बोस्च समान २ विकेट लिए।

