काठमाडौं । छन्द कविता प्रेमीका निम्ति ‘पलेँटी’ ले यसपल्ट भूषिता वशिष्ठलाई प्रस्तुत गर्ने भएको छ । भूषिताले झण्डै सातवर्ष पहिले पनि पलेँटीमा छन्द कविताको अनुष्ठान गरेकी थिइन् ।
छन्द कविता लयात्मक माधुर्यमा गुञ्जाउन सकिने सुललित साहित्यिक विधा हो । परापूर्वकालमा गेयात्मक कविता संसारभर नै साहित्यको मूल शैली मानिन्थ्यो तर अहिले यो शैली सिमित लयप्रेमी साहित्यिक अनुरागीहरूको रुचिमा बँचेको छ ।
यसपालीको ‘पलेँटी’ मा भूषिताले आफ्नो छन्द वाचनलाई नवरसमा आधारित गरेको जानकारी गराएकी छिन् । उनले विभिन्न कविका भिन्न रसका रचना छान्दै अभ्यास गरिरहेकी छिन् । नेपाली साहित्यका अग्रज कविका कविताका साथै पछिल्लो पुस्ताका रचना समावेस पलेँटीमा भूषिताले आफैँले रचेको कविता पनि प्रस्तुत गर्नेछिन् ।
छन्द-पलेँटीलाई नेपालयले एउटा उत्सवका रुपमा लिएको जनाएको छ । यसपालीको छन्द वाचनमा लेखनाथ पौडेल, सोमनाथ सिग्ध्याल, मोतीराम भट्ट, भैरव अर्याल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, लोकप्रिया देवकोटा, नयराज पन्त, मनोज भण्डारी, भरतमणि भट्टराईका साथै भूषिताका रचनाहरू समावेस हुनेछन् ।
भूषिता बाल्यकालदेखिकै छन्दको माहोलमा हुर्किएकी छन्द-अनुरागी हुन् । उनी छन्द कविताको वाचक मात्र होइनन्, छन्द साहित्य भित्र रहेको सैदान्तिक र दार्शनिक पक्षलाई पर्गेल्न रुचाउने अध्ययता पनि हुन् ।
‘पलेँटी मेरा लागि, आराध्य व्यासासन थियो । त्यसलाई न्याय गर्ने ल्याकत ममा न हिजो थियो न आज । परन्तु, यो सानिध्यले मलाई काव्य साधना गर्न अझ बल दियो । म जति धन्य भएँ, त्यसको अंशमात्र पनि पोख्न पाए, यो काव्यको वसन्त–स्नान सार्थक हुने थियो’ भूषिता भन्छिन् ।
‘पलेँटीलाई दोस्रोपल्ट छन्द कवितासँग सहकार्य गर्ने अवसर जुरेकोमा हाम्रो साङ्गीतिक टिम औधी उत्साहित छ’ संगीतकार आभास भन्छन्, ‘झण्डै सात वर्ष पहिले गरेको छन्द-पलेँटीको प्रभावले यस विधाप्रति अझै आकर्षण बढेको अनुभूति हुन्छ ।’ उनको थप प्रतिक्रिया छ ।
‘आर’ शालामा आएर यस काक्र्रमको प्रत्यक्ष आनन्द लिन असमर्थ संसारभरका पलेँटी प्रेमीलाई घरमै बसेर फोन वा टिभीमा प्रत्यक्ष अनुभव गर्न, लाइभ हेर्ने व्यवस्था पनि गरिएको छ । पलेँटीकै वेब साइटमार्फत ’पे पर भ्यु’ को अवधारणा अनुरुप यो सेवा प्रयोग गर्न सकिन्छ ।
छन्द पलेँटीको प्रस्तुति यही जनवरी महिनाको ३० र ३१ तारिख साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा सम्पन्न हुनेछ । कार्यक्रमको टिकेट बुकिङ र पलेंटीको वेबसाइटमार्फत हुनेछ ।

