उनले देशमा अहिले विदेशी चलखेल गम्भीर रुपमा बढेको औँल्याउँदै राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्ने औँल्याए।
केसीले वर्तमान संविधानको रक्षा, भ्रष्टाचारको विरोध, शुशासन र संघीयता अन्तर्गत प्रदेश संरचना खारेजीका लागि राजमोका उम्मेदवारहरूलाई जिताउन अपील पनि गरे। महासचिव मनोज भट्टका अनुसार राजमोले सार्वजनिक गरेको घोषणा पत्र तीन खण्डमा विभाजित छ।
पहिलो खण्डमा अध्यक्ष केसीको अपील राखिएको छ, जहाँ पार्टीका उम्मेदवारहरूलाई किन र केका लागि मतदान गर्ने प्रष्टीकरण छ यस्तै, दोस्रो खण्डमा जेनजी आन्दोलनपछिको देशको राजनीतिक अवस्थाबारे विश्लेषण गरिएको छ।
जनमोर्चाले कुशासन र भ्रष्टाचारका कारण भदौ २३ गतेको जेनजी आन्दोलन भएको ठहर गर्दै आन्दोलनलाई विदेश शक्तिको आडमा हाइज्याक गरी देश जलाइएको आरोप लगाएको छ। यसलाई गम्भीर षडयन्त्रका रुपमा जनमोर्चाले औँल्याएको छ।
यस्तै, तेस्रो खण्डमा राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित सवाललाई स्थान दिइएको छ। राजमोले कालापानीलगायत भारतद्वारा अतिक्रमित भूभाग फिर्ता हुनुपर्ने, अमेरिकी सहायता परियोजना एमसीसी खारेज गरिनुपर्ने, एसपीपी सम्झौता हुन नहुने वैदेशिक हस्तक्षेप रोक्न माग गरेको छ।
महासचिव भट्टका अनुसार विकास निर्माणबारे पनि घाेषणा पत्रमा स्पष्ट खाका प्रस्तुत गरिएको छ । जनमोर्चाले यातायात क्षेत्रको समग्र विकास, लुम्बिनी पुरातात्विक सहर निर्माण, पहाडबाट तराई झर्ने क्रम रोक्न पहाडमै आधारभूत विकास निर्माण, यातायात दुर्घटना न्यूनीकरण लगायतका सवाल उठाएको छ।
यस्तै, विदेशस्थित नेपालीलाई मताधिकारको व्यवस्था गर्न पनि घोषणा पत्रमार्फत जोडदार माग गरिएको छ ।

