काठमाडौँ — फिल्म ‘बुकी’मा समावेश ‘तिमी मै संग भई राख है’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा गायक देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्कीको अभिनय देखिन्छ ।
देवेन्द्र बब्लुको शब्द, रचना र स्वर रहेको गीतमा दीपक शर्मा र एचबीएन किस्मतको संगीत छ । ‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस’को प्रस्तुतिमा निर्माण भएको फिल्ममा देबेन्द्र र रोशनीसँगै अभिनेत्री सुरक्षा पन्त, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायतको अभिनय छ । फिल्मको छायांकन काठमाडौं, पोखरा र विशेषगरी बाग्लुङको ढोरपाटन लगायतका क्षेत्रमा गरिएको हो ।
लक्ष्मण सापकोटा, अमिषा थापा कौचा, रमेश थापा निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी रहेका छन् । राजेश थापा र बसुन्धरा खरेलले ‘क्रिएटिभ प्रोड्युसर’ छन् भने जितु थापा र सुनील बुढाथोकी को-प्रोड्युसरका रूपमा रहेका छन् ।
विकास गन्धर्वले खिचेको फिल्मलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । फिल्मलाई सन् २०२६ भित्र प्रदर्शनमा ल्याउने तयारी छ फिल्मलाई विवश कुमार माझी र मोहन केसीले निर्देशन गरेका हुन् ।

