१७ माघ, २०८२
दाङ- दाङको गढवा गाउँपालिका वडा नम्बर १, वनघुस्री स्थित जनशक्ति सामुदायिक वन उपभोक्ता समूहको २७ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । वन समूहका अध्यक्ष खुम बहादुर गाहा मगरको सभापतित्वमा भएको उक्त कार्यक्रमले वनको संरक्षण, वैज्ञानिक व्यवस्थापन र आगामी आर्थिक कार्ययोजनालाई अनुमोदन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि दाङ जिल्ला सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष हरि भुषालले सामुदायिक वनहरू आत्मनिर्भर बन्नुपर्ने उल्लेख गर्दै वन पैदावर र स्थानीय उद्योग प्रयाेगमा जाेड दिनुभयो । गढवा–१, बडहरामा १२ वटा सामुदायिक वन समूहहरूको साझा लगानीमा सञ्चालित गोवरडिहा स-मिल तथा फर्निचर उद्योग तपाईहरुकै हो । यस समूहबाट प्राप्त हुने वैधानिक काठहरू सोही उद्योगमा चिराउनु समेत आग्रह गर्दै यदि कसैले यस प्रक्रियामा अवरोध गरेमा आफु कानुनी प्रतिरक्षा गर्न तयार रहेकाे बताउनु भयाे ।”कार्यक्रमका विशिष्ट अतिथि स्थानिय सामुदायिक उपभोक्ता महासंघ गढवाका अध्यक्ष नवराज शर्माले सामुदायिक वनले सामाजिक विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
सभामा समूहका अध्यक्ष खुम बहादुर गाहा मगरले वार्षिक प्रगति विवरण, कोषाध्यक्ष विष्णु केसीले आर्थिक प्रतिवेदन र सचिव मञ्जु चौधरीले आगामी वर्षको प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
साना बालबालिकाहरूको सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको थियो भने कार्यक्रमको सञ्चालन समूहका सदस्य सरज चौधरीले गर्नुभएको थियो ।

