२० माघ, २०८२ ।
कपिलवस्तु – कपिलवस्तुको कोईली बनगाईदेखि लक्ष्मणघाट जोड्ने सडक अन्तर्गत बाणगंगा नदीमा रहेको लक्ष्मणघाट पुलमा एक्सपेन्सन प्यानल नहुँदा सवारी सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको छ। विशेषगरी साना सवारी साधन तथा अटो व्यवसायीहरू यस समस्याबाट बढी प्रभावित भएका छन्।
पुल निर्माणका क्रममा जडान गरिएका फलामका एक्सपेन्सन प्यानल चोरी भएपछि पुलको बीच भागमा लामो समयदेखि ग्याप (खाली स्थान) रहेको स्थानीयले बताएका छन्। उक्त ग्यापका कारण सवारी आवागमनमा जोखिम बढेको छ भने यात्रुले समेत असहज यात्रा गर्नुपरेको अवस्था छ।
समस्या समाधानका लागि अटो व्यवसायीहरूले पटक–पटक माटो, मिस्कट लगायतका सामग्री प्रयोग गरी अस्थायी व्यवस्थापन गर्दै आएका छन्। तर स्थायी समाधान नहुँदा केही समयमै ती सामग्री पानीले बगाउने भत्कने र समस्या पुनः दोहोरिने गरेको अटो व्यवसायीहरू बताउँछन्।

अटो व्यवसायीका अनुसार उक्त स्थानमा सवारी गुडाउँदा अटो बिग्रिने, यात्रु झस्किने तथा दुर्घटनाको जोखिम समेत बढ्ने गरेको छ। “हामीले पटक–पटक अस्थायी रूपमा पुरेर सवारी चलाउँदै आएका छौँ, तर स्थायी व्यवस्थापन नहुँदा दिनहुँ सास्ती भोग्नुपरेको छ,” एक अटो चालकले बताए।
स्थानीयवासी तथा सवारी व्यवसायीहरूले सम्बन्धित नगरपालिका तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै यथाशीघ्र पुलमा एक्सपेन्सन प्यानल जडान गरी स्थायी समाधान गर्न माग गरेका छन्। समयमै ध्यान नदिइए ठूलो दुर्घटना हुन सक्ने उनीहरूको चिन्ता छ।

