२० माघ, २०८२
अर्घाखाँची – न्युनतम सेवा मापदण्ड (MSS) कार्यान्वयन कार्यक्रम अन्तरगत अस्पताल अनुगमन मुल्यांकन तथा समीक्षा कार्यक्रम अर्घाखाँची अस्पताल सन्धिखर्कमा सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयको आयोजना र अर्घाखाँची अस्पताल प्रमुख जगन्नाथ तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशबाट आएको विज्ञ टोलीले माघ १९ र २० गते मुल्यांकन गरि अर्घाखाँची अस्पताल MSS को सुचकाङ्कमा प्रदेश मै अहिलेसम्म ९४ अङ्क प्राप्त गरि तेस्रो स्थान प्राप्त गर्न सफल भएको घोषण गरेको छ ।
कार्यक्रममा अस्पताल प्रमुख तिवारिले अस्पतालले गरेका ०८२/०८३ मा सञ्चालित कार्यक्रमहरू र आगामी कार्ययोजनाका बारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा मुल्यांकन टोलीका प्रमुख बर्दिया अस्पताल प्रमुख डा.सुवास पाण्डेयले अस्पतालका सबल पक्ष र सुधार गर्नुपर्ने पक्षहरूको बारेमा जानकारी गराउँदै अस्पतालमा ब्लड बैंकको स्थापना, बाल मैत्री सेवा प्रदान, सुविधा सम्पन्न भवनको निर्माण र दरबन्दी अनुसारको विशेषज्ञ सेवा हुनुपर्ने बताउनुभयो ।
उहाँले कम जनशक्ति र अरू धेरै जटिलताहरू बिच पनि अस्पताललाई पहाडी क्षेत्रको उत्कृष्ट अस्पताल बनाउन गर्नुभएको सामुहिक प्रयत्नलाई अस्पताल परिवार र सहयागी संस्थालाई हृदयदेखी धन्यवाद दिनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै जिल्ला समन्वय समिति प्रमुख जिवनारायण कोईरालाले अस्पताल विकासको निम्ति सम्बन्धित निकायमा आवाज उठाउँदै आएको उल्लेख गर्दै सुबिधा सम्पन्न भवन तथा बिशेषज्ञ सेवाको निम्ति मुख्य मन्त्रीसँग पटक-पटक छलफल भएको बताउनुभयो। काेईरालाले स्वास्थ्यकर्मीहरूलाई मुस्कान सहितको सेवा प्रदान गर्नुपर्ने र अहिले अस्पतालमा चाहिने नर्सिङ स्टाफ संख्या ४२ जना भएपनि जम्मा १६ जनाले मात्रै सेवा प्रदान गर्नुभएकोमा नर्सिङ स्टाफलाई विशेष धन्यवाद दिनुभयो ।
अस्पताल व्यवस्थापन अधिकृत शिव बन्जाडेको सन्चालनमा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई, सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल, अर्घाखाँची अस्पताल एम.डी डा.खगेन्द्र आचार्य, सन्धिखर्क नगरपालिका स्वास्थ्य प्रमुख पूर्ण पराजुली, पत्रकार महासंघका अध्यक्ष गणेश खनालले आफ्ना धारणा राख्नु भएको थियो।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नं. १ का अध्यक्ष माधव श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका डा.अच्युत शर्मा, अर्घाखाँची आयुर्वेद निमित्त कार्यालय प्रमुख कमल प्रसाद आचार्य, स्वास्थ्य निर्देशनालय MSS अधिकृत सन्देश पौडेल, नेपाल नियमित रक्तदाता संघका अध्यक्ष अशोक चौहान, अस्पताल व्यवस्थापन सुदृढीकरण समितिका सदस्य अनिता भुसाल लगायत स्वास्थ्यकर्मीहरूकाे सहभागिता रहेको थियो।
यसै कार्यक्रम बिच अस्पतालमा सुविधा सम्पन्न भवनबाट ल्याब सञ्चालनमा ल्याइएकाे छ । सो कार्यक्रमको सुभारम्भ जिल्ला समन्वय समिति प्रमुख जिवनारायण कोइरालाले रिबन काटेर गर्नु भएको थियाे ।
विगतमा साँघुरो ठाउँबाट सेवा प्रदान गरिदै आएको ल्याब सेवा अब देखि सो भवनमा अत्याधुनिक परिक्षण मेसिन जडान गरि सेवा प्रदान गरिने ल्याव प्रमुख राजकुमार बन्जाडेले बताउनुभयो।

