माघ २१, २०८२
सन्धिखर्क-अर्घाखाँची जिल्लामा माघ २७ गतेदेखि फागुन २ गतेसम्म एच.पि.भि.खोप सन्चालन हुने भएको छ ।
खाेप समन्वय समिति तथा सञ्चारकर्मी सँगकाे अन्तरक्रिया कार्यक्रममा खोप समन्वय समिति संयोजक जिवनारायण कोइरालाले शतप्रतिशत नतिजा प्राप्त गर्नेगरी अभियानमा लाग्न आग्रह गर्नुभएको छ ।
खोपलाई प्रभावकारी तरिकाले सञ्चालन गर्नको लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो।

विश्वभर महिलाहरूमा पाठेघरको मुखको क्यान्सर गम्भीर स्वास्थ्य समस्याका रूपमा देखिएको तथ्य सार्वजनिक भएको छ। तथ्याङ्कअनुसार हरेक वर्ष करिब ५ लाख ७० हजार महिलालाई यो रोग लाग्ने र सन् २०३० सम्ममा यो संख्या ७ लाखसम्म पुग्न सक्ने अनुमान गरिएको छ। त्यस्तै, प्रत्येक वर्ष करिब ३ लाख ११ हजार महिलाको मृत्यु हुने र सन् २०३० सम्ममा मृत्यु संख्या ४ लाख पुग्न सक्ने प्रक्षेपण गरिएको छ।
महिलाहरूमा देखिने क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर चौथो प्रमुख क्यान्सरका रूपमा रहेको छ। विशेष गरी न्यून आय र मध्यम आय भएका देशहरूमा यो रोगका बिरामी र मृत्यु हुने दर ८८ प्रतिशतसम्म रहेको तथ्यले यसको गम्भीरता झल्काउँछ।
यही समस्यालाई मध्यनजर गर्दै नेपालमा एच.पि.भी. (HPV) खोप अभियान सञ्चालन गर्न लागिएको छ। अभियानको मुख्य लक्षित समूह विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरू रहेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार नियमित खोप कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ का छात्रा तथा विद्यालय नजाने १० वर्षका किशोरीहरूलाई प्राथमिकता दिइनेछ। साथै, छुट खोप कार्यक्रममार्फत कक्षा ७ देखि १० सम्मका छात्रा र ११ देखि १४ वर्ष उमेर समूहका विद्यालय नजाने किशोरीहरूलाई समेत खोप प्रदान गरिने योजना छ।
स्वास्थ्यकर्मीहरूका अनुसार समयमै एच.पि.भी. खोप लगाउन सकेमा पाठेघरको मुखको क्यान्सरको जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ। त्यसैले अभिभावक तथा विद्यालयहरूलाई आफ्ना बालिकाहरूलाई अनिवार्य रूपमा खोप कार्यक्रममा सहभागी गराउन आग्रह गरिएको छ।
सरकारले यो अभियानलाई प्रभावकारी बनाउन देशभर जनचेतना कार्यक्रम, विद्यालय केन्द्रित खोप शिविर तथा स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी गरेको छ ।


