कुनै समय मुअम्मर गद्दाफीका उत्तराधिकारीका रूपमा हेरिने उनका माइला छोरा सैफ अल–इस्लाम गद्दाफी मंगलबार मारिएका छन् । लिबियाको पश्चिमी सहर जिन्टानमा आफ्नै घरमा बसिरहेको समयमा केही बन्दुकधारीले अल–इस्लामलाई गोली हानी मारिएको उनका राजनीतिक सल्लाहकार अब्दुल्लाह ओथमानले पुष्टि गरेका छन् । ५३ वर्षका अल–इस्लाम सन् २०११ मा उनका पिता अपदस्थ भएदेखि नै जिन्टानमा बस्दै आएका थिए । बिचमा केही वर्ष जेलमा परी सन् २०१७ पछि कैदमुक्त भएका अल–इस्लाम राजनीतिमा फर्कने तयारीमा थिए ।
जिन्टानस्थित अल–इस्लामको घर पसेका ‘चारजना नकाबधारी व्यक्ति’ले अन्धाधुन्ध गोली हानी उनको हत्या गरेको भनिएको छ । सन् २०११ को विद्रोहअघि धेरैले सैफ अल–इस्लामलाई आफ्नो पिताको उत्तराधिकारीका रूपमा हेर्थे । पिताको शासनकालमा उनी लिबियाका दोस्रो सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्थे ।
तर, अरब बसन्तको लहरमा लिबियामा उठेको विरोध प्रदर्शनको परिणामस्वरूप लिबियामा गद्दाफीको शासन ढल्यो र अल–इस्लाम शक्तिहीन बने । अक्टोबर २०, २०११ मा सिर्तेमा आफ्ना बुबा तथा भाइ मुतासिमको मृत्युपछि उनी भूमिगत भएका थिए । उनलाई पछि पक्रेर जिन्टानमै कैद गरियो । पिताको शासनकालमा विरोधीहरूविरुद्ध यातना र चरम हिंसा गरेको धेरै आरोप लगाइएको थियोे । तर, सन् २०१७ मा सो सहर कब्जामा लिने अबु बकर अल–सिद्दिक बटालियनले आममाफीअन्तर्गत उनलाई रिहा गर्यो ।
त्यसपछि उनी वर्षौंसम्म सार्वजनिक रूपमा पुन: देखा परेनन् । उनी वर्षौंपछि नोभेम्बर २०२१ मा लिबियाको राष्ट्रपति पदका लागि उम्मेदवारी दिन सेभा सहरमा सार्वजनिक भए । सुरुमा उनलाई निर्वाचनमा उम्मेदवारी दिन प्रतिबन्ध लगाइएको थियो । पछि उनलाई पुनस्र्थापित गरिएको थियो, तर लिबियाको अशान्त राजनीतिक अवस्थाको परिणामस्वरूप चुनाव भएन ।

