२३ माघ, २०८२
काठमाडौँ । भारतको मेघालयमा बिहीबार भएको कोइला खानी विस्फोटमा १८ जनाको मृत्यु भएको छ भने अन्य धेरै फसेको आशंका गरिएको छ ।अहिलेसम्म १८ वटा शव निकालिएको छ भने ८ जना घाइते भएका छन्। खानीभित्र अझै ३० देखि ४० जनासम्म कामदार फसेको हुनसक्ने स्थानीयको आशंका छ। मृत्यु हुनेमा खोटाङका दुई नेपाली दाजुभाइ पनि रहेका छन् ।
प्रहरीका अनुसार खानीभित्र प्रयोग गरिएको ‘डायनामाइट’ का कारण विस्फोट भएको हो, जसले गर्दा विषाक्त ग्यास फैलिनुका साथै सुरुङहरू भत्किएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख भारु र घाइतेलाई ५० हजार भारु सहयोग दिने घोषणा गरेका छन् । यस्तै मेघालय सरकारले मृतकका परिवारलाई थप ३ लाख भारु दिने बताएको छ।
मेघालयमा ‘रेट–होल’ खानी खन्न सन् २०१४ देखि नै प्रतिबन्ध लगाइएको भए पनि उच्च ज्यालाका कारण धेरै श्रमिकहरू ज्यान जोखिममा राखेर काम गरिरहेका छन्। यस्ता श्रमिकहरूमा नेपाली र आसामी नागरिक पनि पर्दछन् ।

