शनिबार २४ माघ, २०८२
काठमाडौँ —प्रतिनिधिसभा निर्वाचनका दिन २१ फागुनमा देशैभर मौसम सामान्य रहने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले विगत ३० वर्षमा फागुनमा रहेको मौसमको विश्लेषणमार्फत आगामी फागुनको पूर्वानुमान गरेको हो ।
विभागले १०–३० फागुनको दैनिक अधिकतम तापक्रम, न्यूनतम तापक्रम र वर्षाको दैनिक सरदरको तथ्यांक आयोगलाई दिएको छ । उक्त तथ्यांकबाट निर्वाचनका बेला मौसम सामान्य रहने देखिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
मौसम विभागमा उपलब्ध प्रविधिले ५ देखि ७ दिनसम्मको मौसम पूर्वानुमान दिन सक्छ । एक महिनाअगावै दैनिक मौसमको पूर्वानुमान गर्न प्रविधिगत हिसाबले विभाग सक्षम छैन । तर विभागले विभिन्न विश्वव्यापी पूर्वानुमानको प्रारूप तथा विगत ३० वर्षको अवधिमा मापन गरिएको तथ्यांकका आधारमा मौसमको पूर्वानुमानको जानकारी आयोगलाई दिएको हो । विभागका अनुसार कतिपय स्थानमा सन् १९४१ देखिकै मौसमको अध्ययन गरिएको छ ।
विभागका मौसमविद् अशोक बख्रेलले विगतका वर्षहरूको मौसमको औसत तुलना गर्दा हिमाली जिल्लामा मतदानको दिन आसपास मौसम सामान्य नै रहने देखिएको बताए । ‘तर लामो अवधिको पूर्वानुमानमा यही हुन्छ भन्न सकिँदैन,’ उनले भने । बख्रेलका अनुसार अहिले हिमाली जिल्लामा हिउँ पर्ने बेला हो तर त्यति परेको छैन । उनी भन्छन्, ‘केही दिनमा अझै सुधार भएर जाने सम्भावना रहन्छ ।
चुनावमा ताप्लेजुङ, पाँचथर, गोरखा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, दार्चुला र बाजुराका उच्च हिमाली क्षेत्रमा मौसमलाई चुनौती मानिएको छ ।

