शनिबार २४ माघ, २०८२ ।
काठमाडौँ– वरिष्ठ कलाकार सुनिल थापा निधनपछि थापाथलीस्थित नर्भिक अस्पतालमा कलाकर्मी तथा शुभचिन्तकको उपस्थित बढ्दै गएको छ।
राते काइँलाका नामलेसमेत परिचित थापाको हृदयघातका कारण शनिबार बिहान साढे ७ बजे उपचारकाक्रममा मृत्यु भएको थियो। उनको मृत्युपछि अस्पतालमा कलाकार नीर शाह, तुलसी घिमिरे, दीपक कोईराला, सरोज खनाल,शिव श्रेष्ठ, विल्सनन विक्रम राई, प्रसान्त ताम्राकारलगायत उपस्थित भएका छन्।
अस्पताल क्षेत्र अहिले शोकमग्न रहेको छ। कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापा मिलनसार, अनुशासित र सबैलाई सम्मान गर्ने स्थापित कलाकार भएको बताए।
नेपालको चलचित्र क्षेत्रमा उनको योगदान उल्लेखनीय रहेको अध्यक्ष निरौलाको भनाइ छ। ‘उहाँ मिलनसार, सबैलाई ईज्जत गर्ने र अनुशासनमा बस्ने कलाकार हुनुहुन्थ्यो। एउटा असल व्यक्तित्व हुुनुहुन्थ्यो, नेपालका लागि स्थापित कलाकार’, उनले भने।
यस्तै निर्देशक तथा अभिनेता प्रशान्त ताम्राकारले थापाको निधनले नेपाली चलचित्र उद्योगलाई ठूलो क्षति पुगेको बताए। उनले आफ्नो चलचित्र यात्रामा सुनिल थापाको ठूलो सहयोग र योगदान रहेको बताए। उनले शुक्रबार मात्रै थापासँगै आफूले रामनाम सत्य नामक चलचित्रको छायाँकन गरेको बताए।
उक्त चलचित्रको बाँकी कामको लागि दैलेख जाने योजना भएपनि अब अधुरो रहेको उनको भनाइ छ। ‘मेरो चलचित्र उद्योगमा हुनु नै सुनिल दाईको ठुलो देन छ। उहाँको सहयोग नभएको भए म यो उद्योगमा हुने नै थिइन होला’, उनले भने।
निर्माता दीपक कोईरालाले थापालाई आफ्ना अभिभावकसरह व्यक्तित्वका रूपमा स्मरण गर्दै उनको निधनले आफूलाई गहिरो पीडा पुगेको बताए। स्वर्गिय थापाले आफूलाई धेरै सहयोग र मार्गनिर्देशन गर्ने गरेको उनको भनाइ छ।
थापाका परिवारका सदस्यहरू भारतको मुम्बईमा बसोवास गर्दै आएका छन्। थापाका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। परिवारका सदस्य काठमाडौँ आएपछि अन्तिम संस्कार गर्ने जनाइएको छ।
हाल नर्भिक अस्पतालमा कलाकारहरुको बाक्लो उपस्थिति रहेको छ।

