आईतबार, २५ माघ २०८२ ।
अर्घाखाँची – नेपाल औषधि व्यवसायी संघ अर्घाखाँचीले संस्थाकाे २८औं स्थापना दिवस एक कार्यक्रम गरि सन्धिखर्कमा मनाएकाे छ ।
संस्थाले स्थापनम दिवसकाे अवसरमा सन्धिखर्क नगरपालिका १ रूब्दी हर्सिङ्खाेर निवासी एक असहाय महिला फूर्सि नेपालीलाई राहत समाग्री बितरण गरेकाे छ ।
७० बर्षिय फुर्सी नेपालीकाे स्थाई घर सन्धिखर्क १० बराप भएपनि उहाँका आफन्त छाेरा छाेरीहरूले हेर्न छाडेपछि र श्रीमान पनि बितेपछि उहाँ बिगत ७ बर्षदेखि रूब्दी बस्दै आउनु भएकाे छ ।
उहाँ अहिले कसैले दिएकाे सहयाेग र बृद्धभत्ताबाट प्राप्त सहयाेगबाट आफ्नाे जीवन निर्वाह गरिरहनु भएकाे छ ।
उहाँलाई स्थानीय बासीले बाँगी खाेला किनारामा बस्ने बास (झुप्राे) बनाईदिएका छन् । उहाँ दम राेगबाट पिडित हुनुहुन्छ ।
उहाँकाे याे अबस्थालाई बुझी संस्थाले आज उहाँ बस्ने घरमै पुगी केही आवश्यक औषधी, ओढ्ने न्यानाे कपडा तथा खाद्यान्न प्रदान गरेकाे छ ।
औषधि व्यवसायी संघ अर्घाखाँचीले प्रत्येक वर्ष संस्थाकाे स्थापना दिवसकाे अवसरमा जिल्लामा रचनात्मक तथा राहत बितरण जस्ता विशेष कार्य गर्दै आएकाे संघका अध्यक्ष राम प्रसाद अधिकारीले बताउनु भयाे । उहाँले पालिकाहरूकाे समन्वयमा पालिकाहरूमा लागु आैषध दुर्व्यसन सम्बन्धमा चेतनामुलक कार्यक्रम सन्चालन गरेकाे र विगत बर्ष जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीलाई लापसे (लागू पदार्थ सेवन गरेकाहरूलाई जाँच्ने ) कीट स्टिकर वितरण गरेकाे बताउनु भयाे । कार्यक्रममा प्रदेश सदस्य तथा जिल्ला सल्लाहकार नारायण पाैडेल, पूर्व अध्यक्ष, जिल्ला सल्लाहकार लिलामणि ढुङ्गाना, संघका उपाध्यक्ष द्वय कृष्ण प्रसाद बन्जाडे ,हरि प्रसाद खनाल, महासचिव तिलक मिश्र, काेषाध्यक्ष बिष्णु प्रसाद भुसाल, सचिव सूर्य बहादुर थापा, सदस्य सीता आचार्य (पाैडेल), अाैषधी ब्यवसायी नारायण प्रसाद गैरे लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
