साेमबार, २६ माघ २०८२ ।
काठमाडौं – पाकिस्तानको राजधानी इस्लामाबादमा एक मस्जिदमा भएको विस्फोटमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । शुक्रबारको प्रार्थनाको समयमा भएको विस्फोटमा १६० भन्दा बढी घाइते भएका छन् । सहरको तारलाई क्षेत्रमा रहेको सिया मस्जिदनजिक पुगेपछि एक आत्मघाती बम विस्फोट गराएको प्रहरीले जनाएको छ । इस्लामिक स्टेट (आइएस) समूहले आक्रमणको दाबी गरेको छ । समूहले कथित बम विस्फोटको तस्बिर पनि जारी गरेको छ ।
आक्रमणको निन्दा गर्दै पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले ‘गहिरो दुःख’ व्यक्त गरे । देशका राष्ट्रपति आसिफ अली जर्दारीले भने, ‘निर्दोष नागरिकलाई लक्षित गर्नु मानवताविरुद्धको अपराध हो ।’ आइएसले जिम्मा लिनुअघि पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले आक्रमणका पछाडि भारत र अफगानिस्तानको हात रहेको बताएका थिए । आक्रमणकारी अफगानिस्तानबाट यात्रा गरेर आएको प्रमाणित भइसकेको दाबी गर्दै आसिफले सामाजिक सञ्जालको एक पोस्टमा भने, ‘भारत र अफगानिस्तानबिचको साँठगाँठ प्रकट भइरहेको छ ।’ अफगानिस्तानको तालिबान सरकारले आसिफको टिप्पणीलाई खेदजनक भनेका छन् ।
