बिहीबार, २९ माघ २०८२
अर्घाखाँची – घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा जिल्लाभित्रका स्थानीय तहमा रहेका उद्योग तथा वाणिज्य शाखामा कार्यरत कर्मचारी तथा उद्योग दर्तासँग सम्बन्धित विभिन्न संघीय कार्यालयका कर्मचारीबीच एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
जिल्लाको सन्धिखर्कमा आयोजित उक्त गोष्ठीमा उद्योग दर्ता, नवीकरण, अभिलेखीकरण तथा सेवा प्रवाह प्रक्रियालाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने विषयमा छलफल गरिएको थियो। कार्यक्रममा स्थानीय तह र संघीय कार्यालयबीच समन्वय अभिवृद्धि गर्ने, दोहोरोपन हटाउने तथा सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने उपायका बारेमा सहभागिहरूले आ–आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख दुर्गा न्यौपानीले उद्योग दर्ता प्रक्रियामा देखिएका व्यवहारिक समस्याहरू समाधान गर्न यस्ता अन्तरक्रियात्मक कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँले उद्योगमैत्री वातावरण निर्माण गरी उद्यमशीलता प्रवर्द्धन गर्नु सबै निकायको साझा दायित्व भएको उल्लेख गर्नुभयो। उहाँले फर्म अध्यावधिक गर्नुपर्ने व्यवस्था ,पूँजीवृद्धि ,नामसारी खारेजी सम्बन्धी व्यवस्था, सेवा प्रवाहमा हरेक स्थानीय तहबाट एकरूपता कायम गर्ने लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
त्यसैगरी, ६ वटै स्थानीय तहबाट सहभागी भएका घरेलु तथा उद्योग शाखाका प्रमुखहरूले आआफ्नो स्थानीय तहमा भएका फर्म दर्ताको अवस्था र काम गर्ने क्रममा देखिएका समस्याको बारेमा जानकारी गराएका थिए । सहभागिहरूले उद्योग प्रशासनसम्बन्धी कानुनी व्यवस्था, अनलाइन प्रणालीको प्रयोग, तथ्यांक व्यवस्थापन तथा सेवा प्रवाहमा एकरूपता कायम गर्ने विषयमा छलफलसमेत गरेका थिए। कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी , सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल, अर्घाखाँचीका प्रहरी प्रमुख दिवसबहादुर जिसी, कृषि जोनका विष्णुबहादुर मगराती, चेम्बर अफ कमर्स अर्घाखाँचीका अध्यक्ष अशोक कुमार श्रेष्ठ, पत्रकार महासंघका प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य, जिल्ला उपाध्यक्ष रुद्रमणि भुसाल, स्थानीय तहका राजस्व शाखा प्रमुख, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।

कार्यशाला गोष्ठीबाट स्थानीयतहमा रहेका उद्योग शाखाको प्रशासनलाई थप प्रभावकारी बनाउने तथा निकायहरूबीच समन्वय सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका कर्मचारी हुमबहादुर बिकको सञ्चालनमा सम्पन्न भएको हो।

