आईतवार ३ फागुन, २०८२
बुटवल : बुटवलमा रहेको इन्टलेक्च्युअल एकेडेमीले आफ्नो स्थापनाको १६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय एकाइ, रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीले इन्टलेक्च्युअल एकेडेमीले छोटो समयमै सिकाई र संस्कारको उत्कृष्ट संयोजन गरी बुटवल क्षेत्रमा बेग्लै पहिचान बनाएको बताए। स्कुल अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको बताउदै आगामी दिनमा अझ व्यवहारिक शिक्षा दिँदै जानुपर्ने बताए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रबन्ध निर्देशक रामराज पोख्रेलले विद्यालयको सफलताको आधार नै विद्यार्थीको बहुआयामिक विकास भएको उल्लेख गरे । उनले भने “हामी विद्यार्थीलाई अक्षर मात्र चिनाउँदैनौँ, उनीहरूभित्र लुकेको प्रतिभा प्रस्फुटन गराएर असल नागरिक बनाउन केन्द्रित छौँ।” शिक्षाको लागि बुटवल अब्बल रहेको बताउँदै उनले भने-” किताबी ज्ञानले मात्र नहुने भएकाले व्यवहारिक ज्ञान दिनुपर्ने बताए । अब विद्यार्थीहरुलाई कक्षा कोठा भित्र मात्र पढाएर पनि नहुने भएकाले संस्कार सहितको शिक्षा दिनु पर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्य, बुटवल उपमहानगरपालिकाका शिक्षा अधिकृत मधुसूदन बेलबासे र विद्यालयका सल्लाहकार डा. विष्णुप्रसाद शर्माले विद्यालयले निरन्तर प्रगति गर्दै अगाडी बढेको बताए । कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद मरासिनीले विद्यालय, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धले नै उत्कृष्ट नतिजा सम्भव भएको बताए । उनले भने “उत्कृष्ट अंक मात्र हाम्रो लक्ष्य होइन, प्रविधिमैत्री र व्यवहारिक शिक्षा दिँदै संस्कारयुक्त समाज निर्माण गर्नु हाम्रो दायित्व हो।”
वार्षिकोत्सवको अवसरमा शैक्षिक सत्र २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो भने एसईई (SEE) परीक्षामा शतप्रतिशत नतिजा दिलाउन सफल विषयगत शिक्षक र उत्कृष्ट कर्मचारीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । बार्षिक उत्सब समारोहमा विद्यार्थीहरूले विज्ञान प्रदर्शनीका साथै विभिन्न सांस्कृतिक तथा साहित्यिक कलाहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अभिभावकहरू मञ्जु भट्टराई, कृष्णप्रसाद न्यौपाने, पूर्व विद्यार्थी बिपिन मरासिनी लगायतले बोलेका थिए । स्कुलमा अध्ययनरत विद्यार्थीहरू अप्सना पराजुली, आयुस्का वि.क. र बोनिसा भुसालले विद्यालयको शैक्षिक वातावरण र आफ्ना अनुभवहरू राखेका थिए । कार्यक्रम शिक्षक सिमरन थापा र ब्युटी रसालले सञ्चालन गरेका थिए ।


