आईतवार फागुन ३, २०८२
काठमाडौँ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
निर्वाचन आयोगले फागुन ३ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसारको १५ दिने समय सीमा सुरु भएको घोषणा गरेको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीकाअनुसार राजनीतिक दल र उम्मेदवारहरूले फागुन १८ गते राति १२ बजेसम्म मात्र जुलुस, आमसभा र प्रचार प्रसारका कार्यक्रमहरू गर्न पाउनेछन् ।
त्यसपछि ‘मौन अवधि’ सुरु हुने र यस समयमा कुनैपनि प्रकारका चुनावी गतिविधि, छलफल वा ‘कानेखुसी’ गर्न समेत निषेध गरिएको छ ।
राजनीतिक दलहरूले निर्वाचन खर्चका लागि अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए । आमसभा वा कोणसभा गर्दा मञ्च तयारीमा लागेको खर्चको विवरण उम्मेदवार स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ । स्वेच्छिक आर्थिक सहयोग लिँदा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिधिभित्र रहनुपर्ने आयोगको स्पष्ट निर्देशन छ ।
भण्डारीका अनुसार नेपाल सरकार, प्रदेश सरकार र मन्त्रीहरूले निर्वाचन प्रचार प्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न पाउने छैनन् । यसको कडा निगरानीका लागि केन्द्रीय र जिल्ला स्तरीय अनुगमन समितिहरू सक्रिय पारिएको उनले बताए । अधिकांश दलहरूले निर्वाचनका लागि आफ्नो घोषणा पत्र वा प्रतिवद्धता पत्र आयोगमा पेस गरिसकेको बताए । आइतबार रातिसम्मको समय सीमा तोकिएको र केही दलहरू अझै प्रक्रियामा रहेको आयोगले जानकारी दिएको बताए । मुलुकको सुशासन र विकासका योजनाहरू समेटिएको यो दस्तावेज दलहरूको कानुनी र नैतिक दायित्व रहेको कार्यवाहक आयुक्त भण्डारीले बताए ।
‘४ गते देखि १८ गतेसम्म यो निर्वाचन प्रचारप्रसार गर्न पाउने अवधि हो र १८ गते राति १२ बजेबाट मौन अवधि सुरु हुन्छ । १८ गते राति १२ बजेपछि कुनैपनि प्रचारप्रसार गर्न पाइँदैन । कानेखुसी, साउती, मस्तिष्क मन्थन पनि गर्न पाइँदैन, त्यो विश्राम गर्ने बेला हो । र विश्राम पूर्वको अवस्था र स्थितिमा आचारसंहिता परिपालना गरेर दलहरुले के काम गर्न हुने र नहुने लगायतका विषयवस्तुहरु मैले यहाँहरुलाई पस्कें । अब यहाँहरुको केही जिज्ञासा छ, त्यो जिज्ञासालाई सम्बोधन गरौं । घोषणा पत्र दलहरुले सबै दलहरुले तपाईँहरुले तोकेको मितिमा सार्वजनिक गरे त भन्ने एउटा टड्कारो प्रश्न छ । यो प्रश्नको उत्तर मैले कसरी सम्बोधन गरौं, अधिकांश दलहरुले पेस गरिरहनुभएको छ,’ उनले भने, ‘आज भरेसम्म पेस गर्ने टाइम छ, हामी अलिकति समय अगावै छौं । भरेसम्म पेस हुन सक्छ । र यो सन्दर्भमाचाहिँ के हो भनेदेखि दलहरुले कानुनी दायित्वबाट उन्मुक्ति पाउनुहुन्न भनेर निर्वाचन आयोगले समयमै दलहरुलाई आग्रह गरेको तपाईंले निर्वाचनमा प्रतिस्पर्धा गर्ने जाने प्रयोजनको लागि तपाईंको योजना के छ ? कार्यक्रम के छ ? विकास निर्माण गर्ने लगायतका विषयवस्तुहरु के के छन् ? मुलुकमा अग्रगामी निकास राख्ने सुशासन प्रवाह गर्ने लगायतका विषयवस्तुहरुलाई यहाँहरुले कसरी सम्बोधन गर्नुभएको छ ? तपाईंहरुको घोषणा पत्रमार्फत सम्बोधन कसरी गर्नुभएको छ ? ती विषयवस्तुहरु समेटिएको घोषणा पत्र पेस गर्नुस् भनेर दलहरुलाई आग्रह गरेको हो ।’

