साेमबार, ४ फागुन २०८२
अर्घाखाँची – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीले “साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिष्कार गरौँ, संयुक्त स्वाधीन सरकार गठन गरौँ” भन्ने मूल नारासहित जिल्लाका विभिन्न स्थानमा प्रचारप्रसार अभियान सञ्चालन गरेको छ।
पार्टीका अनुसार मालारानी गाउँपालिका र सन्धिखर्क नगरपालिकाका विभिन्न वडामा पर्चा वितरण, घरदैलो भेटघाट तथा मतदातासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो। अभियानका क्रममा पार्टीका कार्यकर्ताहरूले वर्तमान संसदीय व्यवस्थाप्रति आफ्नो असहमति व्यक्त गर्दै वैकल्पिक राजनीतिक संरचनाको आवश्यकता औंल्याएका थिए।
जिल्ला समितिका प्रतिनिधिहरूले निर्वाचन प्रक्रियालाई “साम्राज्यवादद्वारा प्रभावित” भन्दै त्यसको बहिष्कार गर्न आह्वान गरेका छन्। उनीहरूले राष्ट्रिय स्वाधीनता, आत्मनिर्भर अर्थतन्त्र र वैकल्पिक शासन व्यवस्थाको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जानकारी दिएका छन्।
घरदैलो कार्यक्रमका क्रममा स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गरी पार्टीको धारणा, नीति तथा कार्यक्रमबारे जानकारी गराइएको बताइएको छ। साथै, प्रचार सामग्री वितरण गर्दै आगामी निर्वाचनमा सहभागी नहुन आग्रह गरिएको स्रोतले जनाएको छ।
अभियान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र कार्यक्रमका क्रममा कुनै अप्रिय घटना नघटेको जिल्ला समितिले जनाएको छ। क्रान्तिकारी कम्युनिष्ट पार्टीले आगामी दिनहरूमा पनि जिल्लाका अन्य क्षेत्रहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

