बिहीबार, फाल्गुन ७, २०८२ ।
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलन र त्यसपछि उन्पन्न प्रश्नबारे ६ प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधिसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै आफूलाई मतदाताले प्रश्न गरिरहेको सन्दर्भमा आफ्ना पनि प्रश्न रहेकाे बताए ।
‘२४ भदौपछि फेरि हाम्रो देशमा अनिश्चयको तुवाँलो फैलिएको छ । ७ दशकभन्दा लामो संघर्षको उपलब्धिका रूपमा प्राप्त हाम्रो संविधान र समग्र व्यवस्थामाथि धावा बोलिएको छ । हाम्रो स्वाधीनता र स्वाभिमानमाथि आक्रमण गरिएको छ,’ उनले जेन-जी आन्दोलनबारे भनेका छन्, ‘आज नेपाल यस्तो दोबाटोमा उभिएको छ, जहाँ एकातिर रिस, आवेग र आक्रोश छ, अर्कातिर विवेक र जिम्मेवारी ‘भत्काउने र बनाउने’ परस्पर विरोधी सोचबीच जारी चर्को द्वन्द्वमा देशलाई थप प्रयोगशाला बनाउन खोजिँदै छ।’
उनले समाज नै प्रश्नैप्रश्नको घेरामा रहेको भन्दै ६ प्रश्न अघि सारेका छन् । ‘आदरणीय मतदाता निर्वाचनको केही साताअघि हाम्रा प्रतिबद्धता घोषणा गरिरहँदा यस्तो लाग्छ– सिंगो समाज प्रश्नैप्रश्नको घेरामा छ । जसरी आममतदाताको हामीसहित स्थापित राजनीतिक दल र नेताहरूप्रति प्रश्न छ, त्यसैगरी मेरा पनि केही प्रश्नहरू छन्’ उनले भने ।
उनका ६ प्रश्नहरू छन्- २३ भदौअघि देश बनिरहेको थियो कि बिग्रेको थियो ? या देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर समाजमा आक्रोश विस्तार गरिँदै थियो ? २३ भदौको जेन-जी प्रदर्शनमा कसले घुसपैठ गर्यो ? आयोजकहरूका घोषित कार्यक्रमअनुसार शान्तिपूर्ण प्रदर्शन सकियो भन्दै घर फर्कन लागेका युवाहरूलाई निषेधित क्षेत्रतर्फ जान बाध्य कसले गर्याे ?
उनका थप प्रश्न गरेका छन्, ‘२३ भदौको घटना स्वतःस्फूर्त थियो कि तयारीसहितको षडयन्त्र ? या २४ भदौको विध्वंसको लागि आधार तयार पार्न घुसपैठियाहरूले भड्काएको हिंसा ? जेन-जी प्रदर्शनकारीका सरकार, संविधान तथा व्यवस्थाका सन्दर्भमा कुनै माग थिएनन् । हुँदै नभएको माग पूरा गरेझैं प्रणालीमाथि नै धावा बोल्ने गरी प्रतिनिधिसभाको विघटन किन गरियो ? त्यो आफू अनुकुल सरकार बनाउने वा चुनाव गराउने योजना मात्रै थियो भने व्यावसायिक प्रतिष्ठानहरू किन जलाइयो ? विचार मात्रै बोकेको कारण एकैसाथ पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाका साधारण पार्टी समर्थक समेतको निजी सम्पत्ति लुटपाट, तोडफोड र आगजनी किन गरियो ?’
यदि त्यो राजनीतिक प्रतिशोध थियो भने आफ्नो कर्तव्य पालना गरिरहेका राज्यका सुरक्षाकर्मीमाथि आक्रमण किन गरियो ?

