अर्घाखाँची : शितगंगा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न भएको छ। नगरभित्रका विभिन्न सामुदायिक विद्यालयहरूको उल्लेख्य सहभागितामा आयोजित प्रतियोगितामा सुधा मावि जुकेना च्याम्पियन बन्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रभाकर मावि सिमलपानी दोस्रो, पांकुरी मावि पांकुरी तेस्रो तथा लापे मावि चौथो स्थान हासिल गर्न सफल भएका छन् । विभिन्न विधामा विद्यार्थीहरूले देखाएको प्रतिभा, अनुशासन र प्रतिस्पर्धात्मक भावना कार्यक्रमको मुख्य आकर्षण बनेको थियो।
एथलेटिक्स, भलिबल, कबड्डी, दौड, जम्प लगायतका खेलकुद विधामा छात्र–छात्राहरूले उत्कृष्ट प्रतिस्पर्धा गरेका थिए। खेलकुदमार्फत विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास हुने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम समापन समारोहमा नगरका जनप्रतिनिधि, शिक्षा शाखाका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। विजयी विद्यालय तथा खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्दै आगामी दिनमा प्रदेश तथा राष्ट्रिय स्तरमा समेत उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गरिएको थियो।
नगरस्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताले विद्यालयस्तरबाटै खेलकुद प्रतिभा पहिचान र प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्। यस प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै समग्र शैक्षिक वातावरणलाई थप जीवन्त बनाएको विश्वास लिइएको छ।

