शुक्रबार फागुन ८, २०८२ ।
काठमाडौं : सन् २०२८ मा अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्ने १२ टोलीको टुंगो लागेको छ । भारत र श्रीलंकामा चलिरहेको टी–२० विश्वकपको सुपर ८ को टुंगो लागेसँगै दुई वर्षपछि हुने अर्को विश्वकप खेल्ने १२ टोलीको निश्चित भएको हो ।
अस्ट्रेलिया र न्युजिल्यान्डले आयोजक राष्ट्रका रूपमा ११औँ संस्करणको विश्वकप खेल्नेछन् । जारी विश्वकपमा सुपर ८ मा प्रवेश गरेका भारत, पाकिस्तान, श्रीलंका, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, जिम्बाबे र वेस्ट इन्डिजले पनि आउँदो विश्वकपमा स्थान पक्का गरेका छन् । सुपर ८ बाहिर रहेकामध्ये अहिले टी–२० आई वरीयतामा माथि रहेका तीन राष्ट्रले पनि आगामी विश्वकप खेल्न पाउनेछन् । अफगानिस्तान र आयरल्यान्ड जारी विश्वकपमा समूह चरणबाटै बाहिरिएका थिए ।
भारतसँगको विवादका कारण बंगलादेश यसपटकको विश्वकपमा सहभागी भएन । आठ टोली भने क्षेत्रीय छनोटमार्फत विश्वकपमा आउनेछन् । अफ्रिका, युरोप, अमेरिका र एसिया र इस्ट एसिया प्यासिफिकको क्षेत्रीय छनोटबाट तीन राष्ट्र छनोट हुँदै आठ राष्ट्रले विश्वकप खेल्ने आइसिसीले जनाएको छ । नेपालले यसपटक एसिया–इस्ट एसिया प्यासिफिकको क्षेत्रीय छनोटको शीर्ष स्थानमा रहँदै २०२६ को विश्वकपमा स्थान बनाएको थियो । एजेन्सी
