शनिबार फागुन १६, २०८२ ।
अर्घाखाँची : २७ औँ स्वास्थ्य सेवा दिवस २०८२ को अवसरमा अर्घाखाँचीको कारागार कार्यालयमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण तथा नसर्ने रोगको स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालयको आयोजना र अर्घाखाँची अस्पतालको सहकार्य स्वास्थ्य शिविर सम्पन्न भएको हो। कार्यक्रममा अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले मानिसहरूमा दिन प्रतिदिन नसर्ने रोगहरू बढीरहेकाले यस्ता खालका शिविर सञ्चालनले कैदीबन्दीहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने र नयाँ रोग पत्ता लगाउने र समयमै रोग पहिचान गरिसकेपछि स्वास्थ्य उपचार गर्न सहज हुने बताउनुभयो ।

शिविरमा स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेलले समयमै रोगपत्ता लगाई त्यसको निराकरण गर्न यस्ता शिविर प्रभावकारी हुने उहाँले बताउनुभयो । सरकारले माग र फागुन महिनालाई नसर्ने रोग पहिचान गर्ने अभियानको रुपमा चलाएकाले अर्घाखाँची जिल्लामा पनि १५००० नागरिकको चेक जाँच गर्ने लक्ष्य रहेकोमा झन्डै १४ हजार नागरिकको स्वास्थ्य परीक्षण गरिसकिएको स्वास्थ्य कार्यालयका प्रमुख पोखरेलले जानकारी दिनुभयो । अर्घाखाँचीमा पनि पछिल्लो समय विभिन्न खालका खानपान, बजारमा बस्ने जीवनशैली, शारीरिक व्यायामको कमी लगायतका कारणले नसर्ने रोगहरू दिनप्रतिदिन बढ्दै गएको जानकारी दिनुभयो। जिल्लामा पछिल्लो समय क्यान्सर मृगौलामा समस्या ,मधुमेह जस्ता रोगहरू दिनप्रतिदिन बढ्दै गएकाले यसको रोकथाम र नियन्त्रणका लागि स्थानीय तहदेखि लिएर सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रशासकीय अधिकृत श्यामहरी भट्टराईले कारागारमा शिविर सञ्चालन गरेर कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गरेकोमा स्वास्थ्य कार्यालयलाई धन्यवाद समेत दिनुभयो । कारागारमा भएको स्वास्थ्य शिविरमा झन्डै १०० जना सेवाग्राहीले सेवा लिएका थिए। स्वास्थ्य शिविर गणेश पौडेलको सञ्चालनमा सम्पन्न भएको हो।

