काठमाडौं: अमेरिका–इजरायलको संयुक्त हमलाको पहिलो लहरमै अयातुल्लाह अली खामेनीको हत्या भएपछि इस्लामिक गणराज्य इरान सन् १९७९ को इस्लामिक क्रान्तिपछि सबैभन्दा निर्णायक मोडमा पुगेको छ।
यस सैन्य अभियानमा इरानका वरिष्ठ सैनिक तथा राजनीतिक नेतृत्वलाई लक्षित गरिएको थियो। अमेरिकाले यस आक्रमणबाट इरानको सत्तात्मक संरचना कमजोर बनेको दाबी गरेको छ।
शनिबार साँझसम्म खामेनीको मृत्युको खबर व्यापक रूपमा फैलिएपछि इरानका विभिन्न शहरहरूमा खुसी मनाइरहेका दृश्य सार्वजनिक भए।
विदेशमा बसोबास गर्ने इरानी समुदायका केही समूहहरूले पनि यसलाई ऐतिहासिक मोडको रूपमा व्याख्या गरेका छन्। वर्षौंको नागरिक प्रतिरोधपछि पनि खामेनीलाई हटाउन नसकिएको अवस्थामा उनको मृत्युले नयाँ राजनीतिक अध्याय सुरु भएको संकेत दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सार्वजनिक सम्बोधनमा कडा भाषा प्रयोग गरेका छन्। ट्रम्पले इरानी जनतालाई “आफ्नो सरकार फिर्ता लिन” यो अवसरको उपयोग गर्न आग्रह गरेका छन् भने नेतन्याहूले इरानमा सत्ता परिवर्तन “आवश्यक मात्र नभई सम्भव पनि” रहेको बताएका छन्।
अमेरिकाले आफ्नो सैन्य अभियानलाई ‘अपरेसन एपिक फ्युरी’ नाम दिएको छ। यद्यपि सैन्य रणनीतिमा स्पष्टता देखिए पनि इरानी जनतालाई दिइएको राजनीतिक सन्देश भने अनिश्चित देखिन्छ।
आइतबार बिहान इरानी सरकारी टेलिभिजनले खामेनीको मृत्यु औपचारिक रूपमा पुष्टि गर्दै कार्यकारी अधिकार सम्हाल्न तीन सदस्यीय अन्तरिम परिषद गठन गरिएको घोषणा गरेको छ। संवैधानिक व्यवस्था सक्रिय गरिएको र देशमा स्थिरता कायम रहेको सन्देश दिन सरकार सक्रिय देखिएको छ।
अब सम्भावित उत्तराधिकारीबारे अड्कलबाजी तीव्र भएको छ। इरानमा सर्वोच्च नेता चयन प्रक्रिया प्रायः गोप्य रूपमा सञ्चालन हुने गर्छ।
सर्वोच्च नेता छनोट गर्ने जिम्मेवारी ‘असेम्बली अफ एक्सपर्ट्स’सँग हुन्छ, जसले नामहरूको समीक्षा गरी छोटो सूची तयार पार्छ। बैठकहरू बन्द कोठाभित्र हुने र मतदान सार्वजनिक नहुने भएकाले बाह्य अनुगमन सीमित हुन्छ।
पछिल्ला वर्षहरूमा खामेनीका जेठा छोरा मोज्तबा खामेनी सम्भावित उत्तराधिकारी हुन सक्ने चर्चा चल्दै आएको थियो। तर हालैका हमलामा इस्लामिक रिभोलुन्टरी गार्ड क्रप्सका उनका विश्वासपात्र कमाण्डरहरू मारिएपछि आन्तरिक शक्ति सन्तुलन फेरिन सक्ने आँकलन गरिएको छ।
यसैबीच, सैन्य दृष्टिकोणले इरानले ठूलो क्षति बेहोरेको छ। विभिन्न सैन्य आधारहरूमा क्षति पुगेको छ र अमेरिका–इजरायलको हवाई अभियान जारी रहेको बताइएको छ।
यद्यपि, इरानले जवाफी क्षमता देखाएको दाबी गरिएको छ। हमलाका प्रारम्भिक दुई दिनमै इरानी फौजले केही अरब मुलुकमा रहेका अमेरिकी ठिकाना तथा इजरायली लक्ष्यहरूमा आक्रमण गरेको जनाएको छ।
दुबईका नागरिक क्षेत्र र कुवेतको एक नागरिक विमानस्थलमा पहिलोपटक मिसाइल खस्दा द्वन्द्वको दायरा फराकिलो भएको संकेत मिलेको छ। यसले क्षेत्रीय युद्धको जोखिम बढाएको विश्लेषण गरिएको छ।
इरानी नेतृत्वका लागि यदि द्वन्द्व अझै फैलियो र मध्यपूर्वमा उसका सहयोगी मिलिशिया समूहहरू सक्रिय भए भने युद्धविरामका लागि दबाब सिर्जना गर्न सकिने ठानिएको छ। अर्कोतर्फ, निरन्तर सैन्य दबाब र आन्तरिक विरोध प्रदर्शन पुनः चर्किएमा इस्लामिक गणराज्यको स्थायित्व झनै संकटमा पर्न सक्ने देखिन्छ।
यदि सुरक्षा तथा सैन्य निकायभित्रै मतभेद उत्पन्न भए वा आदेश पालनामा असहमति देखियो भने शासन व्यवस्थामा थप अस्थिरता आउन सक्छ। आगामी दिनमा सुरक्षा संस्थाहरू आफ्नो दीर्घकालीन नेताको अनुपस्थितिमा कत्तिको एकजुट रहन्छन् भन्ने विषय निर्णायक हुनेछ।
हालको अवस्थामा सबै सम्भावनाहरू खुला छन्। आफ्नो सर्वोच्च नेता गुमाएको, प्रमुख कमाण्डरहरूबाट वञ्चित र निरन्तर सैन्य दबाबमा रहेको इरान कमजोर देखिए पनि उसँग संस्थागत संरचना, सशस्त्र बल र जवाफी क्षमता अझै बाँकी रहेको विश्लेषण गरिएको छ।
अली खामेनीको मृत्युले इरानलाई अस्थिर र अनिश्चित चरणमा पुर्याएको छ। अब देशले आन्तरिक नियन्त्रण कायम राख्न सक्छ कि सक्दैन, विरोध आन्दोलनले गति लिन्छ कि लिँदैन र द्वन्द्व क्षेत्रीय रूपमा कति फैलिन्छ भन्ने कुराले इरानको भविष्य निर्धारण गर्नेछ।

