बुधबार फाल्गुन २०, २०८२ ।
काठमाडौँ : प्रतिनिधिसिभा सदस्य निर्वाचनमा केही प्रमुख नेताहरू आफैंलाई मतदान गर्नबाट वञ्चित हुने भएका छन् । स्थायी बसोबास भएको क्षेत्रको मतदाता सूचीमा नाम भएको तर उम्मेदवारी भने अर्को क्षेत्रमा दिएकाले उनीहरूले आफैंलाई मतदान गर्न नपाउने भएका हुन् ।
प्रतिनिधिसभा निर्वाचनमा मुलुकको जुनसुकै क्षेत्रबाट उम्मेदवार हुन पाउने कानुनी प्रावधान छ । सोही सुविधा उपभोग गर्दै नेताहरू आफ्नो मतदाता नामावली नभएका क्षेत्रबाट समेत उम्मेदवार बनेका हुन् । आफूलाई मतदान गर्न नपाउने नेताहरूले सम्बन्धित क्षेत्रबाट पार्टीका प्रत्यक्ष र समानुपातिक उम्मेदवारलाई मतदान गर्नेछन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट उम्मेदवार छन् । उनको मतदाता नामावली भने सूर्यविनायक नगरपालिका बालकोटमा छ । भक्तपुर–२ बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रबाट उनले मतदान गर्दै आएका छन् । यसपटक पनि उनले भक्तपुर–२ का आफ्ना उम्मेदवारलाई र समानुपातिकमा पार्टीलाई मतदान गर्नेछन् । ०७९ को निर्वाचनमा उनी झापा–५ बाट निर्वाचित भएका थिए । भक्तपुरमा मतदान गरेपछि ओली झापा जाने कार्यक्रम छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पनि आफूलाई मत दिन पाउने छैनन् । उनी रुकुम पूर्वबाट उम्मेदवार छन् भने उनको मतदाता नामावली भने चितवनमा छ । दाहालले चितवन–३ को भरतपुर–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्नेछन् । चितवन–३ मा उनले नेकपाका उम्मेदवारलाई मतदान गरी त्यही दिन रुकुम पूर्व जाने कार्यक्रम छ । दाहालको सचिवालयका अनुसार चितवनमा मतदान गरेलगत्तै उनी रुकुम पूर्व जाने तयारी छ । दाहाल ०७९ को निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका थिए ।
त्यस्तै सर्लाही–४ बाट उम्मेदवारी दिएका कांग्रेस सभापति गगनकुमार थापाले पनि आफैंलाई मतदान गर्ने छैनन् । उनले काठमाडौं–४ मा पर्ने मैतीदेवीस्थित मन्दिर छेउमा रहेको केन्द्रमा मतदान गर्नेछन् । उनी पनि काठमाडौंमा मतदान गरी आफ्नो निर्वाचन क्षेत्र सर्लाही जाने कार्यक्रम छ । गत आमनिर्वाचनमा उनी काठमाडौं–४ बाट उम्मेदवार भई विजयी भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले काठमाडौं–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा मतदान गर्दै आएका छन् । जबकि उनी चितवन–२ का उम्मेदवार हुन् । यसपटक पनि उनले महाँकालचौर केन्द्रबाट मतदान गर्ने भएकाले आफूलाई मतदान गर्न पाउने छैनन् । गत निर्वाचनमा पनि उनी चितवन–२ बाट निर्वाचित भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले पनि आफूलाई मत दिन पाउने छैनन् । शाहले झापा–५ बाट उम्मेदवारी दिएका छन् । नामावली काठमाडौंमै भएकाले उनले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । त्यसपछि उनी उम्मेदवार भएको जिल्ला झापा जाने कार्यक्रम छ ।
कांग्रेस महामन्त्री प्रदीप पौडेल तनहुँ–२ ढोरफेदीका मतदाता हुन् । तर उनी काठमाडौं–५ बाट उम्मेदवार भएका छन् । उनले पनि आफूलाई मत हाल्न पाउने छैनन् । पौडेल ०७९ को निर्वाचनमा काठमाडौं–५ बाट निर्वाचित भएका थिए ।
सर्लाही–३ बाट उम्मेदवारी दिएका नेकपाका नेता नारायणकाजी श्रेष्ठले पनि आफूलाई मतदान गर्न पाउने छैनन् । किनकि श्रेष्ठ गोरखा सिरानचोक गाउँपालिका जौबारीका मतदाता हुन् ।
रास्वपा वरिष्ठ नेता स्वर्णिम वाग्ले तनहुँ–१ का उम्मेदवार छन् । काठमाडौंको मतदाता भएकाले उनले पनि आफूलाई मत दिन पाउने छैनन् । उनले टोखास्थित चण्डेश्वर माध्यमिक विद्यालयमा मतदान गर्दै आएका छन् । प्र्रतिनिधिसभाको उपनिर्वाचनमा उनी तनहुँ–१ बाटै निर्वाचित भएका थिए ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं–१ मा उम्मेदवार दिएका छन् । जबकि उनी ललितपुर–१८, भैंसेपाटीका मतदाता हुन् । जसले गर्दा मिश्र पनि आफूलाई मत दिनबाट वञ्चित हुनेछन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ का उम्मेदवार हुन् । तर, उनी मोरङको विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पसका मतदाता हुन् । मतदाता सूचीमा आफ्नो नाम नभएको क्षेत्रका उम्मेदवार भएकाले उनले पनि आफूलाई मतदान गर्न पाउने छैनन् ।

