बुटवल : लुम्बिनी प्रदेशका २६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २१ क्षेत्रमा जितेर वर्चस्व कायम गरेकोे छ ।
यसअघिका ठूला दलमध्ये नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले २–२ क्षेत्र जित्दा नेकपा एमालेले एउटा क्षेत्रमा मात्र मात्र जित निकालेको छ ।
प्रदेशका १२ जिल्लामध्ये रास्वपाले नवलपरासी पश्चिमका दुवैै क्षेत्र, रुपन्देहीका ५ वटै क्षेत्र, गुल्मीका दुवै क्षेत्र, दाङका तीनवटै क्षेत्र, अर्घाखाँची, पाल्पाको एक, कपिलवस्तुका दुई, बाँकेका दुई, प्युठान र बर्दियाका दुवै क्षेत्र जितेको छ ।
नेपाली कांग्रेसले कपिलवस्तु–३ र पाल्पा–१ मा जितेको छ ।
नेकपाले जनयुद्धको आधारभूमि रोल्पा र रुकुममा आफ्नो विरासत जोगाउँदै दुई सिट जितेको छ । यस्तै नेकपा एमालेले बाँके–२ मा मात्र जितेको छ ।
रास्वपाले एकभन्दा बढी निर्वाचन क्षेत्र भएका रुपन्देही, दाङ, नवलपरासी, गुल्मी र बर्दियामा क्लिन स्विप गरेको छ ।
प्रदेशका हेभिवेट नेताहरू एमाले उपाध्यक्ष विष्णु पौडेल, अर्का उपाध्यक्ष गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, नेता प्रदीप ज्ञवाली, नेकपाका नेता पूर्वमन्त्री सोमप्रसाद पाण्डे, नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठौर, कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, एमाले केन्द्रीय सदस्य सूर्य थापा, कांग्रेसका डा. गोविन्द पोखरेल, जसपा नेपालका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लालगायत पराजित भएका छन् ।