शुक्रबार २९ फागुन २o८२ ।
काठमाडौं : उपभोक्ताले शुक्रबारदेखि आधा भरिएको ग्यास सिलिन्डर पाउने भएका छन् । भारतबाट आयात हुने ग्यास परिमाण घट्न थालेपछि आयल निगमको निर्देशनमा उद्योगीले आधा ग्यास भरिएको सिलिन्डर बिक्री गर्ने भएका हुन् । निगम सञ्चालक समितिको निर्णयअनुसार आधा सिलिन्डर ग्यासको मूल्य पनि आधा नै अर्थात् ९५५ रुपैयाँ तोकिएको छ ।
यसअघि ०७२ मा भारतले नेपाललाई नाकाबन्दी गरेका वेला पनि आपूर्ति घट्दा आधा भरिएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइएको थियो । पूरा भरिएको सिलिन्डरमा १४.२ किलो ग्यास हुन्छ । अब आउने ग्यासमा ७.१ किलो ग्यास हुन्छ ।
हाल दैनिक खपत १३२ सिलिन्डर भए पनि भारतले विश्व बजारबाट आपूर्ति कम भएको कारण देखाउँदै नेपाल निर्यात गर्ने परिमाण पनि घटाउन थालेको छ । मुलुकभर दैनिक एक लाख सिलिन्डर ग्यास खपत हुने गरेको छ । आपूर्ति सहजताका लागि आधा भरिएको ग्यास वितरण गर्दा दैनिक दुई लाख सिलिन्डर वितरण गर्न सकिने निगमको दाबी छ ।
आगामी दिनमा सामान्य अवस्थाको तुलनामा नेपाल निर्यात हुने परिमाण थप कटौती गर्ने भारतले संकेत गरेकाले ग्यास आपूर्ति सहजताका लागि आधा भरिएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । ‘आपूर्ति सहजताका लागि यो निर्णय गरिएको हो,’ उनले भने ।
बजारमा आधा ग्यास भरिएको सिलिन्डर पठाउने विषयमा आयल निगमले तीन दिनअघिबाट गृहकार्य गरिरहेको थियो । खासगरी दुई–तीन दिनयता तराईमा पनि माग उच्च हुन थालेपछि आपूर्ति सहज गराउन मुस्किल बन्दै गएको थियो । त्यसपछि आयल निगमका अधिकारी र उद्योगीहरूबिच मंगलबार दिउँसो बसेको बैठकमा आपूर्ति सहजताका उपायबारे छलफल भएको थियो । बुधबार दिउँसो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव मधुसुधन बुर्लाकोटीसहित आयल निगमका अधिकारीहरूले थप छलफल गरेका थिए । छलफलमा पनि माग बढ्दै गएकाले आगामी दिनमा ग्यासको सहज आपूर्ति गर्न कठिनाइ हुने निष्कर्ष निकालिएको थियो । बिहीबार दिउँसो भने उद्योगमन्त्री अनिलकुमार सिन्हा, सचिव बुर्लाकोटी, आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट, ग्यास उद्योगीहरू गोकुल भण्डारी, शिवप्रसाद घिमिरेलगायतको उपस्थितिमा छलफल भएको थियो । उक्त छलफलमा भारतबाट आयात कम हुन थालेकाले आगामी दिनमा थप असहजता हुने विषय उठेको थियो । त्यसपछि मन्त्री सिन्हाको निर्देशनमा आधा ग्यास भरिएको सिलिन्डर प्रचलनमा ल्याउने निर्णय कार्यान्वयन भएको हो ।
निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले आपूर्ति सहज बनाउन आधा ग्यास भरिएको सिलिन्डर बिक्री–वतरण सुरु गर्ने भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मध्यपूर्वमा चलिरहेको युद्धका कारण बजारमा ग्यासको माग बढेको र सहज रूपमा ग्यास नपाइएको भन्ने जनगुनासो बढेकाले त्यसलाई सामान्य बनाउन भोलि शुक्रबारदेखि बजारमा आधा सिलिन्डर ग्यासको वितरण गर्ने । आधा सिलिन्डर ग्यासको मूल्यसमेत आधा अर्थात् ९५५ पर्ने हुँदा सोहीबमोजिम खरिद गर्नुहुनसमेत जानकारी गराइन्छ ।’
भारतबाट कम आउन थाल्यो ग्यास
आयल निगम स्रोतका अनुसार भारतबाट बुधबार र बिहीबार कम ग्यास आयात भएको छ । दैनिक कम्तीमा ११५ बुलेट ग्यास आयात हुने गरेकोमा पछिल्ला दुई दिन सय बुलेटभन्दा कम आयात भइरहेको एक कर्मचारीले बताए । ‘भारतबाट दुई दिनयता नियमित परिमाणभन्दा कम ग्यास आयात भइरहेको छ,’ ती कर्मचारीले भने, ‘अनौपचारिक रूपमा बुझ्दा नियमित परिमाणअनुसार लोडिङ दिन नसकिने देखियो । र आगामी दिनमा थप कडाइ हुने संकेत पनि आएको छ ।’ भारतबाटै कम आउने स्थिति भएपछि पनि निगमले आधा भरिएको ग्यास सिलिन्डर प्रचलनमा ल्याउने निर्णय लागू गरेको हो ।
दुई दिनयता भारतले ९० देखि ९५ बुलेट मात्रै लोडिङ दिइरहेको ती कर्मचारीले बताए । आयल निगमको समन्वयमा उद्योगीहरूले इन्डियन आयल कर्पोरेसन (आइओसी)को भारतस्थित बरौनी, दुर्गापुर, पानीपत, हल्दिया र मथुरा रिफाइनरीबाट ग्यास आयात गर्दै आएका छन् । भारतले ग्यास आयातमा कडाइ गरे पनि औपचारिक जानकारी दिन भने आनाकानी गर्दै आएको छ । नेपालस्थित आइओसीको कन्ट्री म्यानेजर निरूपम राइजादासँग निगम अधिकारीहरू नियमित सम्पर्कमा छन् । राइजादाले पेट्रोलियम पदार्थ कटौती गर्ने कुनै नीति नरहेको बताउने गरेको निगम स्रोतले बतायो ।
भारतमै हुन थाल्यो बिक्रीमा कडाइ
भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह पुरीले संसद् बैठकमा बोल्दै भारतीय ग्रामीण इलाकामा एक थान ग्यास भरिएको सिलिन्डर खरिद गरेको ४५ दिनपछि मात्रै अर्को पाउने नयाँ व्यवस्था लागू गरिएको जानकारी दिएका छन् । सिलिन्डर खरिद गर्न पाउने समयसम्बन्धी व्यवस्था एक हप्तामै परिवर्तन गरिएको हो । यसअघि यस्तो नियम २५ दिनमा नयाँ ग्यास सिलिन्डर साट्न पाइने गरी संशोधन गरिएको थियो । त्यसअघि २१ दिनमा नयाँ सिलिन्डर साट्न पाइने व्यवस्था थियो । तर, मध्यपूर्व तनावले इन्धन आयात प्रभावित भएपछि भारतले वितरणमा कडाइ गरेको हो । त्यस्तै, निर्यातमा समेत कडाइ गरेर घरेलु उपभोक्तालाई प्राथमिकता दिने निर्णयसमेत गरिसकेको छ । नेपालमा खपत हुने शतप्रतिशत इन्धन भारतबाट आयात हुने गरेको छ । त्यसैले, भारतले निर्यातमा कडाइ गर्नासाथ नेपाल प्रत्यक्ष प्रभावित हुन्छ ।
मध्यपूर्वको युद्धले पेट्रोलियम आपूर्तिमा विश्वभर असर
मध्यपूर्व तनावले कच्चा पेट्रोलियम पदार्थ आपूर्ति हुने सबैभन्दा व्यस्त रुट ‘स्टे«ट अफ हर्मुज’ बन्द भएको छ । जसकारण विश्वभर इन्धन आपूर्तिमा असर परेको छ । भारततर्पm कच्चा पदार्थ बोकेर निस्किएको एक पानीजहाजमा इरानले मिसाइल खसाएर ध्वस्त बनाएपछि भारतले सो रुटबाट तेल नल्याउने घोषणासमेत गरिसकेको छ । पेट्रोलियम पदार्थमा भारत २० प्रतिशत मात्रै आत्मनिर्भर छ । र, स्टे«ट अफ हर्मुज रुट हुँदै कम्तीमा ५० प्रतिशत इन्धन ल्याउने गरेको छ । सो बाटो बन्द भएपछि भारतले रुसबाट तीन करोड ब्यारेल कच्चा पदार्थ खरिदको सम्झौता गरिसकेको छ । उक्त तेल आउन स्टे«ट अफ हर्मुजको बाटोको तुलनामा कम्तीमा दुई साता बढी समय लाग्ने जनाइएको छ भने लागत पनि धेरै पर्नेछ ।
आजैबाट अनुगमन चुस्त पार्नुपर्छ : माधव तिमिल्सिना, उपभोक्ता अधिकारकर्मी
मागमा आएको संकुचनका कारण सरकारले आपूर्ति सहजताका लागि आधा भरिएको ग्यास सिलिन्डर प्रयोगमा ल्याउने निर्णय कार्यान्वयन गरेको छ । अब सिलिन्डरमा आधा परिमाण ७.१ किलोग्राम ग्यास हुन्छ कि हुँदैन भन्ने कुरामा बढी सजग हुनुपर्छ । सरकारले अनुगमन संयन्त्र चुस्त बनाएर खाली सिलिन्डरको तौल १५.४ किलोग्राम र ग्यासको तौल ७.१ किलोग्राम गरी कुल २२.५ किलोग्राम हुनुपर्ने यकिन गराउनुपर्छ । उपभोक्ताले पनि डिलरबाट ग्यास लैजादा तौलेर मात्र लैजाने गर्नुपर्छ । सिलिन्डरको पातामा नै खाली सिलिन्डरको तौल १५.४ किलोग्राम रहेको उल्लेख हुन्छ । त्यसैका आधारमा आधा परिमाण ग्यास रहे–नरहेकोबारे उपभोक्ता खरिदअघि चनाखो हुनुपर्छ ।
