काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोका सदस्य राष्ट्रहरूलाई हर्मुजको जलघाँटी खुलाउनका लागि तत्कालै सैन्य सहयोग गर्न चेतावनी दिएका छन् । सदस्य राष्ट्रहरू अमेरिकाको साथमा खडा नभए नाटो गठबन्धनको भविष्य अन्त्यन्तै खराब हुने चेतावनी पनि उनले दिएका छन् ।
बेलायती पत्रिका फाइनान्सियल टाइम्ससँगको टेलिफोन संवादमा ट्रम्पले विश्व उर्जा सुरक्षाका लागि हर्मुज क्षेत्र महत्वपूर्ण रहेको बताए । यस क्षेत्र हुँदै जाने तेलको ठूलो हिस्सा युरोप र चीनले उपभोग गर्ने भएकाले अवरोध खुलाउने प्रयासमा उनीहरु पनि सहभागी हुनुपर्ने उनले बताए ।
यसअघि ट्रम्पले अवरोध खुलाउनका लागि आफ्ना सैन्य जहाज पठाउन जापान, चीन, युरोपलगायत देशहरुलाई आव्हान गरेका थिए । तर, धेरै देशले कुनै प्रतिक्रिया दिएका छैनन् । नाटो गठबन्धनकै सदस्यहरुले अमेरिकालाई सहयोग पठाइरहेका छैनन् ।
ट्रम्पले भने, ‘हर्मुज जलघाँटीमार्फत जाने जलमार्गबाट सबैभन्दा धेरै लाभ उठाउनेहरूले यसको अवरोध खुलाउन सहयोग गर्नुपर्छ । यो आग्रहमा अन्थया प्रतिक्रिया आएमा वा कुनै प्रतिक्रिया नआएमा नाटोको भविष्य अत्यन्तै खराब हुनेछ ।’
उनले युक्रेन मुद्दामा अमेरिकाले युरोपलाई ठूलो साथ दिएको दाबी गर्दै अब हर्मुजको सुरक्षामा युरोपले अमेरिकालाई दिने साथ हेर्ने बताए ।
अमेरिका सधैं नाटो सहयोगीको सुरक्षामा खटिए पनि आफूलाई आवश्यक परेको बेला उनीहरू नआउने अवस्था ठिक नरहेको उनले बताए ।
ट्रम्पले बेलायत अमेरिकाको पुरानो सहयोगी रहेको बताए । तर, इरान युद्धमा अमेरिकाले सहयोग माग्दा बेलायतले समयमै जहाज नपठाएको गुनासो पनि उनले गरे ।
‘अमेरिकाले आक्रमण गरेर इरानलाई कमजोर बनाइसकेपछि मात्रै बेलायतले युद्धपोत पठायो । हामीलाई जितिसकेपछि होइन, जित्नुपर्ने बेलामा सहयोग आवश्यक थियो,’ ट्रम्पले भने ।

