चालु आर्थिक वर्षको सुरुवातमा सरकारको कुल ऋण दायित्व २६ खर्ब ७४ अर्ब रुपैयाँ रहेकोमा पछिल्लो आठ महिनामा मात्रै २ खर्ब ४ अर्ब रुपैयाँले वृद्धि भएको छ।
सरकारले यस आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा फागुनसम्म २ खर्ब ९५ अर्ब रुपैयाँ ऋण उठाइसकेको छ। यस्तै, उक्त अवधिमा २ खर्ब ४२ अर्ब रुपैयाँ ऋण भुक्तानीसमेत गरिसकेको छ।
चालु वर्षभित्रै सरकारले सावा–ब्याज शीर्षकमा ४ खर्ब ११ अर्ब रुपैयाँ तिर्ने लक्ष्य लिएको छ, जसले राजस्व व्यवस्थापनमा थप चुनौती खडा गर्ने देखिन्छ।
नेपालको २०७८ सालको जनसंख्यालाई आधार मान्दा हालको ऋणभार प्रतिव्यक्ति करिब ९८ हजार ६९१ रुपैयाँ पुग्छ, अर्थात् प्रत्येक नेपालीको काँधमा झण्डै एक लाख रुपैयाँ ऋणको भार परेको छ।

