काठमाडौं : मौसम परिवर्तनसँगै धुवाँधुलो वृद्धिजस्ता कारणले बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । गर्मी मौसम सुरु हुन लागेसँगै अन्य मानिसको तुलनामा बालबालिकालाई बढी सताउने गर्छ । तापक्रम वृद्धिसँगै प्रदूषण तथा धुवाँधुलो बढ्दै जान्छ । जसका कारण बालबालिकामा विभिन्न संक्रमण हुने जोखिम बढेर जान्छ ।
भाइरल ज्वरो र झाडापखाला
मौसम परिवर्तनमा बालबालिकामा एक्कासि ज्वरो आउने हुन सक्छ । जसले गर्दा शरीरको तापक्रम १०२ देखि १०४ डिग्रीसम्म पुग्ने गर्छ । भाइरल ज्वरो एक व्यक्तिबाट अर्काेमा सजिलै सर्ने भएकाले यो निकै खतरनाक पनि हुन्छ । यस्तो वेला सामान्यतया पाँच वर्षमुनिका बालबालिकामा बेहोस हुने, कमजोर देखिने, चिसो लाग्ने तथा एक्कासि खोकी बढ्नेजस्ता लक्षण देखिन सक्छ । यस्तो अवस्थामा बच्चालाई छिटो अस्पताल लैजानुपर्ने हुन्छ ।
ज्वरो आएको समयमा घरमै बच्चाको लुगा खोलेर पानीपट्टी गर्न सकिन्छ । नरम कपडालाई पानीमा भिजाएर पूरै शरीर पुछ्दा थप राहत मिल्छ । यसरी बच्चालाई सहज अवस्थामा ल्याउन पनि सकिन्छ । तर, यस्तो वेलामा जथाभावी एन्टिबायोटिक औषधी खान दिनुहुँदैन ।
ऋधिकांशमा गर्मी मौसममा झाडापखलाको समस्या देखिन्छ । यो खासगरी भाइरस र ब्याक्टेरियाको संक्रमणका कारण हुने गर्छ । झाडापखालाको समयमै रोकथाम गर्न सकिएन भने बच्चाको ज्यानै पनि जान सक्छ । झाडापखाला भएमा आमाको दुध साबिकभन्दा धेरै खुवाउनुपर्छ । त्यसैले, सफा पानी र जीवनजल प्रशस्त मात्रामा खुवाउनुपर्ने हुन्छ । त्यस्तै, बच्चालाई झोलिलो खानेकुरा, गेडागुडीको झोल आदि खुवाएर झाडापखाला नियन्त्रण गर्न सकिन्छ । कतिपय अवस्थामा बच्चा दुध चुस्न नसक्ने अवस्थाको हुन सक्छ । यस्तो अवस्थामा बच्चालाई तत्काल अस्पताल लैजानुपर्छ ।
भाइरल इन्फेक्सन
गर्मीका वेला अभिभावकले बच्चालाई चिसो खानेकुरा दिने गरेको पाइन्छ । चिसो खानेकुरा खाँदा घाँटीमा संक्रमण हुने सम्भावना बढेर जान्छ । जसले गर्दा बच्चामा श्वासप्रश्वासमा समस्या देखिन सक्छ । बालबालिकामा प्रतिरोधी क्षमता कम हुन्छ । गर्मी मौसममा अझ नाजुक हुने भएकाले भाइरल इन्फेक्सनले बढी सताउने गर्छ ।
त्यसैले गर्मी मौसममा बालबालिकामा रुघाखोकीको जोखिम उच्च हुन्छ । कतिपय बच्चालाई बान्ता हुने, रिंगटा लाग्ने, छालामा विभिन्न समस्या देखा पर्ने आदि समस्या पनि देखिन्छन् ।
हेरचाह गर्ने तरिका
गर्मी मौसममा संक्रमण चाँडो फैलने भएकाले बालबालिकाको उचित हेरचाह गर्न जरुरी हुन्छ । त्यसैले, भिडभाडमा जाँदा मास्क लगाउन लगाउने, घाममा धेरै खेल्न नदिने, फोहोर पानीको सम्पर्कबाट टाढा राख्ने र खानपानमा ध्यान दियो भने बालबालिकामा आउन सक्ने स्वास्थ्य समस्याबाट जोगाउन सकिन्छ ।

