मंगलबार १० चैत २०८२ ।
अर्घाखाँची — जिल्लाको छत्रदेव गाउँपालिकाले वडा नं. ३, ४ र ६ मा रहेका करिब १५ वटा पसल तथा खाजाघरमा बजार अनुगमन गरेको छ । अनुगमन टोलीको नेतृत्व गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले गर्नुभएको थियो।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका नायब सुब्बा, गुनासो सुनुवाइ तथा विपद् व्यवस्थापन शाखाका प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता, घरेलु शाखा प्रमुख, कृषि तथा पशु शाखा प्रमुख, रोजगार शाखा प्रमुख, मेडेपा शाखा प्रमुख, पत्रकार तथा प्रहरी प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा अधिकांश पसलमा म्याद नाघेका खाद्य सामग्री भेटिएका थिए। विशेषगरी बालबालिकाले उपभोग गर्ने खाद्य वस्तुमा बढी मात्रामा म्याद गुज्रिएका सामग्री फेला परेपछि ती वस्तुहरू सबैको रोहबरमा नष्ट गरिएको थियो।
प्रमुख प्रशासकीय अधिकृत खनालले दर्ता नगरी सञ्चालन भइरहेका पसल तथा होटलहरूलाई एक साताभित्र गाउँपालिकामा अनिवार्य दर्ता गर्न निर्देशन दिनुभयो।
स्थानीय तहको नियमभित्र रहेर व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै यसले व्यवसायी स्वयंलाई पनि सहज हुने बताउनुभयो। उहाँले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा गाउँपालिका कडाइका साथ अघि बढ्ने स्पष्ट पार्नुभयो।
अनुगमनबाट दर्ता भएका र नभएका दुवै प्रकारका व्यवसायलाई स्थानीय सरकारको नियमनभित्र ल्याउने लक्ष्य रहेको जनाइएको छ।

