शनिबार २८ चैत्र २०८२ ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको मध्यस्थतामा दुई देशबिच हाल अप्रत्यक्ष रूपमा छलफल अघि बढेको हो।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले शनिबार इस्लामावादमा पाकिस्तानी प्रधानमन्त्री सरिफ र आन्तरिक मन्त्री मोहसिन नाक्वीसँग भेटवार्ता गरेका छन्।
उपराष्ट्रपति भान्ससँगै अमेरिकी विशेष दूत स्टिभ विट्कफ र जारेड कुश्नरले समेत शान्ति प्रक्रियाका विभिन्न पक्षबारे छलफल गरेका हुन्।
इरानी अधिकारीहरूले पनि प्रधानमन्त्री सरिफसँग छुट्टै भेटवार्ता गरेका छन्। इरानी सञ्चारमाध्यम फार्स र तस्निमका अनुसार प्रारम्भिक वार्ताहरूमा भएको प्रगति र लेबनानको बेरुतमा सैन्य आक्रमणमा आएको कमीपछि औपचारिक वार्ता अघि बढाउने निर्णय भएको हो।
प्रधानमन्त्री सरिफले वार्ता क्षेत्रीय दिगो शान्तिका लागि एउटा महत्त्वपूर्ण खुड्किलो सावित हुने आशा व्यक्त गरेका छन्। लामो समयपछि पाकिस्तान यति ठुलो अन्तर्राष्ट्रिय कूटनीतिको केन्द्र बनेको हो। यहाँ हाल विश्वभरका सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ।
इरानी समाचार एजेन्सीहरू मेहर र इसनाले पनि वार्ता सुरु भएको पुष्टि गरेका छन् ।

