बुधबार, २ बैशाख २०८३ ।
अर्घाखाँची : शितगंगा नगरपालिकाले सार्वजनिक, ऐलानी तथा सरकारी जग्गा संरक्षणका लागि सबै नगरवासीकाे ध्यान जानुपर्ने बताएकाे छ। बैशाख २ गते प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकाेटाद्वारा हस्ताक्षरित गरि जारी गरिएको सूचनामा सार्वजनिक सम्पत्ति अतिक्रमण नगर्न नगरवासीलाई आग्रह गरिएको छ।
नगरपालिकाका अनुसार नेपाल सरकारको नीतिअनुसार सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण, अतिक्रमण नियन्त्रण र अवैध संरचना हटाउने कार्यलाई प्राथमिकतामा राखेकाे बताईएकाे छ । सोहीअनुसार शितगंगा नगरपालिकाभित्र रहेका सार्वजनिक तथा ऐलानी जग्गाको संरक्षणका लागि प्रभावकारी कार्यान्वयन गरिने जनाइएको छ।
सूचनामा कसैले पनि सार्वजनिक वा सरकारी जग्गामा अवैध कब्जा गर्ने, घर–टहरा वा अन्य संरचना निर्माण गर्ने जस्ता कार्य नगर्न स्पष्ट निर्देशन दिइएको छ। यस्ता गतिविधि कानुनविपरीत हुने भएकाले उल्लङ्घन गर्ने व्यक्तिमाथि कानुनी कारबाही गरिने र अवैध संरचना हटाइने चेतावनी दिइएको छ।
नगरपालिकाले सार्वजनिक जग्गाको संरक्षणका लागि नियमित अनुगमन, अभिलेखीकरण तथा आवश्यकताअनुसार अवैध संरचना हटाउने कार्यलाई निरन्तरता दिने जनाएको छ। साथै, कुनै पनि अतिक्रमण वा अवैध गतिविधि देखिएमा तत्काल जानकारी गराउन सबै नगरवासीसँग अनुरोध गरेकाे छ ।

