शनिबार ५ बैशाख २०८३ ।
काठमाडौँ : वालेन्द्र शाह नेतृत्वको सरकारसँग सम्बन्ध सुदृढ गर्ने प्रयासस्वरूप दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर सोमबार नेपाल आउँदै छन् । १३ चैतमा शाहले कार्यभार सम्हालेयता काठमाडौं भ्रमण गर्ने कपुर सबैभन्दा उच्च तहका विदेशी कूटनीतिज्ञ हुनेछन् ।
वासिङ्टन डीसीस्थित नेपाली दूतावासका एक कूटनीतिज्ञ र परराष्ट्र मन्त्रालयका एक अधिकारीले कपुर तीनदिने भ्रमणका लागि काठमाडौं आउन लागेको पुष्टि गरेका छन् । उनीहरूका अनुसार कपुरले नेपाल भ्रमणका क्रममा सरकारका प्राथमिकताहरू सुन्नेछन् र त्यसमा वासिङ्टनले के कसरी सहकार्य गर्न चाहन्छ भन्ने सन्देश प्रवाह गर्नेछन् । भ्रमणको औपचारिक घोषणा भने भएको छैन ।
सहायक विदेशमन्त्री कपुरसँगै अमेरिकी विदेश मन्त्रालयका अन्य दुई अधिकारी पनि काठमाडौं आउन लागेका छन् । काठमाडौं बसाइका क्रममा कपुरले राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने–नगर्नेबारेमा केही बताइएको छैन । एक सरकारी अधिकारीका अनुसार भ्रमणका क्रममा सहायक विदेशमन्त्री कपुरले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल–अमेरिका उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्य लगायतलाई भेट्ने कार्यक्रम छ ।

