काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलकी उपविदेशमन्त्री डा. एना इसाबेल जेभियरबीच भेटवार्ता भएको छ। तीन दिने भ्रमणको लागि बुधबार नेपाल आएकी उनले बिहीबार परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट गरेकी हुन्।भेटका क्रममा मन्त्री खनालले २०८३ वैशाख १ मा पोर्चुगलका समकक्षी पाउलो रान्जेलसँग भएको टेलिफोन वार्तालाप स्मरण गर्दै, काठमाडौंमा पोर्चुगल सरकारको दूतावास स्थापना गर्ने निर्णयलाई स्वागत गरेका छन्। उनले दूतावास स्थापना प्रक्रियामा नेपाल सरकारको पूर्ण सहयोग सुनिश्चित गरिने आश्वासन दिएका छन्। उनले नेपाली नागरिक सम्बन्धी कन्सुलर मुद्दाहरूको सकारात्मक समाधानमा पोर्चुगल सरकारको विचारप्रति प्रशंसा व्यक्त गरे।
उपविदेशमन्त्री डा. जेभियरले मन्त्री खनललाई नेपालको परराष्ट्र मन्त्री पदमा नियुक्ति भएकोमा बधाइ दिँदै सफल कार्यकालको कामना गरिन्।
बिहीबार नै परराष्ट्र सचिव राईले उपविदेशमन्त्री डा. जेभियरसँग द्विपक्षीय वार्ता गरेका थिए। दुवै पक्षले भेटघाटमा द्विपक्षीय सम्बन्ध अझ गहिरो बनाउने र पर्यटन, लगानी, व्यापार, श्रम, डिजिटाइजेशन लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता पुनः व्यक्त गरे।
परराष्ट्र सचिव राईले उपविदेशमन्त्री र उनको प्रतिनिधिमण्डलको सन्मानमा दिउँसोको भोज पनि आयोजना गरेका थिए। उनी शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ। परराष्ट्र सचिव राईको निमन्त्रणमा उनी नेपाल आएकी हुन्।