शुक्रबार १८ बैशाख २०८३
अर्घाखाँची : विदेश पलायनको लहर बढिरहेका बेला अर्घाखाँचीका दुई युवा व्यवसायीले आफ्नै माटोमा सम्भावनाको बीउ रोपेका छन्। जिल्लाका युवा उद्यमी राजन आचार्य र दिलिप केसीको संयुक्त लगानीमा स्थापना गरिएको ‘कस्तुरी एग्रो रिसोर्ट’ बिहिवार एक समारोहका बीच विधिवत रूपमा सञ्चालनमा आएको छ। रिसोर्टको उद्घाटन प्रतिनिधि सभा सदस्य मा. हरि प्रसाद भुसालले गर्नुभएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै भुसालले युवाहरू विदेशिने क्रम तीव्र भइरहेका बेला आफ्नै जन्मभूमिमा लगानी गरेर स्वरोजगार सिर्जना गर्नु उदाहरणीय र प्रेरणादायी कार्य भएको बताउनुभयो। सन्धिखर्क–१, भेटनरी अस्पतालकाे तलपट्टि सञ्चालनमा आएको रिसोर्टले कृषि र पर्यटन क्षेत्रलाई जोड्दै जिल्लाको आर्थिक समृद्धिमा नयाँ आशा जगाउने विश्वास भुसालले व्यक्त गर्नुभयो।

“युवाले चाहे आफ्नै ठाउँमा पनि सम्भावना छ भन्ने सन्देश यो प्रयासले दिएको छ,” उहाँले भन्नुभयो, “यस्ता उद्यमले जिल्लालाई आत्मनिर्भर बनाउँदै रोजगारी सिर्जना गर्छन्।”
सञ्चालकद्वय आचार्य र केसीका अनुसार रिसोर्टमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै सुविधासम्पन्न आवास, स्वच्छ वातावरण र अर्गानिक खानपानको विशेष व्यवस्था गरिएको छ। कृषि पर्यटनको अवधारणासहित सञ्चालनमा ल्याइएको रिसोर्टमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने बताइएको छ।
उहाँहरूले जिल्लाको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र कृषिजन्य उत्पादनलाई पर्यटनसँग जोडेर अर्घाखाँचीलाई नयाँ गन्तव्य बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो।
कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
‘कस्तुरी एग्रो रिसोर्ट’को सुरुवातसँगै अर्घाखाँचीमा अब युवाको सपना विदेश होइन, आफ्नै गाउँठाउँमै भविष्य निर्माण गर्न सकिन्छ भन्ने आशा अझ बलियो बनेको छ। रिसाेर्टमा १ कराेड भन्दा धेरैकाे लगानी भएकाे जनाईएकाे छ ।

