शनिबार, २ बैशाख २०८३ ।
अर्घाखाँची : शितगंगा नगरपालिकाले याे आर्थिक बर्षकाे नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेसँगै अर्घाखाँचीमा नीति तथा कार्यक्रम ल्याउने पालिकामा शितगंगा नगरपालिका पहिलो स्थानीय तह बनेको छ ।
१९ औँ नगरसभामा नगर प्रमुख छविलाल पौडेलले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हाे । नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा सुशासन, पारदर्शिता, शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको नगर प्रमुख पौडेलले बताउनुभयो। उहाँले नगरको समग्र विकास, सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी बनाउने तथा नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गर्नुभएकाे छ ।
कार्यक्रममा शिक्षा क्षेत्रको गुणस्तर सुधार, स्वास्थ्य सेवामा पहुँच विस्तार, कृषि उत्पादन वृद्धि तथा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नीति समेटिएको छ। त्यसैगरी सडक, खानेपानी, सिंचाइ लगायतका भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नतिलाई पनि प्राथमिकता दिइएको जनाइएको छ ।
नगरसभामा सितगंगा नगरपालिका उपप्रमुख गीता भाट क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, योजना शाखा प्रमुख नुमलाल खनाल, एक देखि १४ वटै वडाका वडा अध्यक्षहरू, वडा सदस्यहरू र कर्मचारीहरूको सहभागिता रहेको थियो। प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल गरी आवश्यक सुझावसहित आगामी बजेट तथा योजनालाई अघि बढाउने शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

