बिहीबार, ७ जेठ २०८३ ।
अर्घाखाँची: अर्घाखाँचीको छत्रदेव गाउपालिकालाई “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका ” घोषणा गरिएको छ । बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा ल्याई रोगमुक्त, सुरक्षित र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यसहित गाउपालिकाले यो महत्वपूर्ण उपलब्धि हासिल गरेपछि दिगोपना घोषणा गरिएको हो । स्वास्थ्य क्षेत्रमा स्थानीय सरकारको सक्रियता, स्वास्थ्यकर्मीहरूको निरन्तर मेहनत तथा महिला स्वास्थ्य स्वयंसेविकाको निःस्वार्थ समर्पणका कारण छत्रदेव गाँउपालिकाले जिल्लामा दोस्रो उदाहरणीय सफलता प्राप्त गरेको हो ।
छत्रदेव गाँउपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न घोषणा कार्यक्रममा गाउपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको घोषणा गरेका हुन । कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले पूर्ण खोप अभियानले बालबालिकालाई विभिन्न घातक रोगबाट जोगाउन ठूलो भूमिका खेलेको उल्लेख गर्दै यसको दिगोपनालाई अझ मजबुत बनाउन स्वास्थ्यकर्मी लाग्नुपर्ने बताए ।
कार्यक्रममा गाँउपालिका उपाध्यक्ष मनि पन्थिले खोप अभियान सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरूले गाउटोल बस्तीमा खेलेको भूमिका अतुलनीय रहेको बताइन् । गाउँ–गाउँमा पुगेर अभिभावकलाई खोपको महत्व बुझाउने, खोप छुटेका बालबालिकाको तथ्यांक संकलन गर्ने, स्वास्थ्य सचेतना फैलाउने तथा नियमित रूपमा समुदायसँग समन्वय गर्ने कार्य स्वयंसेविकाहरूले निःशुल्क रूपमा गर्दै आएको उल्लेख गरिन ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालले पूर्ण खोप सुनिश्चितता केवल घोषणा मात्र नभई दिगो स्वास्थ्य प्रणाली निर्माणतर्फको महत्वपूर्ण कदम भएको बताए । उनले नियमित अनुगमन, स्वास्थ्य सेवाको प्रभावकारी सञ्चालन तथा समुदायस्तरमै स्वास्थ्य चेतना विस्तार गर्न गाउपालिका र स्वास्थ्यकर्मी हरु निरन्तर सक्रिय रहने स्पष्ट पारेका थिए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय प्रमुख कृष्णप्रसाद पोख्रेलले नागरिक लाई स्वास्थ्य राख्नका लागि र वालबालिका हरुलाई स्वास्थ राख्न गाउपालिका स्वास्थ्य शाखाले खेलेको भुमिका उल्लेखनीय भएको बताए । उनले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकमैत्री स्वास्थ्य सेवा गाँउपालिकाले विस्तार गर्नेमा आफुहरु बिश्वस्थ रहेको बताए ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख बुद्दिराज न्यौपाने ले गाउपालिकाले सबै बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याउने लक्ष्यसहित निरन्तर रूपमा खोप कार्यक्रम सञ्चालन गर्दै आएपछि पुर्णखोप तथा दिगो पना घोषणा गर्न सफल रहेको बताए ।

