मंगलबार, ।
मंगलबारको बैठकमा विपक्षी सांसदहरूको चर्को नाराबाजी र अवरोधका बीच सभामुख डोलप्रसाद (डीपी) अर्यालले सदनको कार्यसूची अघि बढाउने प्रयास गरे पनि अन्ततः बैठक स्थगित गर्न बाध्य भएका हुन्।
विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाह सदनमा उपस्थित भएर समसामयिक र सार्वजनिक सरोकारका विषयमा स्पष्टीकरण दिनुपर्ने अडान राखेका थिए। विपक्षीको अवरोधका कारण सदनको नियमित काम-कारबाही प्रभावित भएपछि सभामुख अर्यालले प्रधानमन्त्री जवाफ दिन छिटै आउने जानकारी गराउँदै सांसदहरूलाई आ-आफ्नो आसनमा बस्न पटक-पटक आग्रह गरेका थिए।
तर, विपक्षी सांसदहरू आफ्नो मागबाट पछि नहटेपछि र आसन ग्रहण नगरेपछि सभामुख अर्यालले होहल्लाकै बीच ‘पेलेरै’ बैठक अघि बढाएका थिए। विपक्षीको विरोध जारी रहँदा पनि सभामुखले सदनको कार्यसूचीमा रहेको ‘पर्यटन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई अघि बढाएका हुन्।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सदनलाई उपेक्षा गरेको आरोप लगाउँदै आएका छन्। उनीहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर संसद्मा उठेका प्रश्नहरूको जवाफ नदिएसम्म सदन चल्न नदिने चेतावनी दिएका छन्।

