काठमाडौँ । स्मार्टफोन उत्पादक कम्पनी ओप्पोले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन फाइन्ड एक्स ९ अल्ट्रा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । भर्खरै बाहिरिएका रिपोर्ट र लिक भएका रेन्डरका अनुसार यो फोनले मोबाइल फोटोग्राफी र कार्यक्षमताको क्षेत्रमा नयाँ मापदण्ड कायम गर्ने देखिएको छ ।
यो फोनको सबैभन्दा ठुलो विशेषता भनेको यसको क्यामेरा सेटअप हो । फाइन्ड एक्स ९ अल्ट्रामा २०० मेगापिक्सेलका दुईवटा शक्तिशाली सेन्सर रहनेछन् । यसमा २०० मेगापिक्सेलको सोनी LYT-901 मुख्य सेन्सर (f/1.5 अपार्चर) र २०० मेगापिक्सेलकै ओम्निभिजन टेलिफोटो सेन्सर समावेश गरिएको छ ।
यो फोनको अर्को विशेष आकर्षण भनेको ३०० एमएमको टेलिफोटो एक्सटेन्डर एक्सेसरी हो । यो एक्सेसरी प्रयोग गर्दा फोनको टेलिफोटो लेन्सले १३.२x सम्मको अप्टिकल जुम प्रदान गर्न सक्छ । यसका साथै १०x अप्टिकल जुमका लागि ५० मेगापिक्सेलको अर्को सेन्सर, ५० मेगापिक्सेलको अल्ट्रावाइड लेन्स र सेल्फीका लागि ५० मेगापिक्सेलको फ्रन्ट क्यामेरा पनि यसमा रहनेछ । यो सम्पूर्ण प्रणाली ह्यासलब्लाडको सहकार्यमा तयार पारिएको हो ।
ओप्पोले यसमा क्वालकमको सबैभन्दा नयाँ स्न्यापड्रागन ८ इलाइट जेन ५ चिपसेट प्रयोग गर्नेछ । फोनमा ७,३०० एमएएचको पावरफुल ब्याट्री रहनेछ, जसले सुपर फास्ट वायर्डका साथै वायरलेस चार्जिङलाई पनि सपोर्ट गर्नेछ ।
डिस्प्लेको कुरा गर्दा यसमा ६.८२ इन्चको २के (2K) फ्ल्याट एमोलेड स्क्रिन रहनेछ । जसले १२० हर्जको रिफ्रेश रेट प्रदान गर्दछ । सफ्टवेयरको रूपमा यो फोन एन्ड्रोइड १६ मा आधारित कलर ओएस १६ मा चल्नेछ । फाइन्ड एक्स ९ अल्ट्राको डिजाइनमा ग्लास, मेटल र केही भेरियन्टमा फक्स लेदरको आकर्षक मिश्रण देख्न सकिनेछ । लिक भएका जानकारी अनुसार यो फोन कम्तीमा तीनवटा रङमा उपलब्ध हुनेछ: क्लासिक अल-ब्ल्याक, भाइब्रेन्ट ओरेन्ज र ब्राउन डुअल-टोन ।
यसबाहेक सिल्भर कलरको विकल्प पनि सार्वजनिक हुन सक्ने बताइएको छ, जसले फोनको प्रिमियम बनोटलाई झल्काउनेछ । ओप्पोले यो अल्ट्रा फ्ल्यागशिप फोन अङ्ग्रेजी वर्षको दोस्रो त्रैमासिकको सुरुतिर चीनमा सार्वजनिक गर्ने योजना बनाएको छ । चीनमा सार्वजनिक भएको केही समयपछि मात्र यो फोन विश्व बजारमा उपलब्ध हुने अपेक्षा गरिएको छ । अत्यधिक शक्तिशाली क्यामेरा र विशाल ब्याट्री क्षमताका कारण यो फोन सन् २०२६ को बहु प्रतिक्षित एन्ड्रोइड स्मार्टफोन बनेको छ ।

