बिहान ११ बजे बस्ने बैठकमा सभामुख डिपी अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ।
त्यस्तै, सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरेको बेहोरा जानकारी गराउने छन्। ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रिय सभाबाट अवधिभित्र फिर्ता नभएको जानकारी पनि सभामुखले गराउने कार्यक्रम छ।
संसद्का महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेपछि वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु हुनेछ। छलफलका क्रममा उठेका प्रश्नहरूको अर्थमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।
व्यवस्थापन कार्यअन्तर्गत अर्थमन्त्री वाग्लेले ‘विनियोजन विधेयक, २०८३‘, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसँगै ती विधेयकहरू प्रस्तुत गर्नेछन्।
यसैगरी, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।


