काठमाडौँ , माघ १२
‘पार्टी कमिटीहरू बनेका छैनन् । संयोजक र सहसंयोजकको हुकुमी आदेशबाट पार्टी चलेको छ,’ उनले भने, ‘सामूहिक निर्णयबाट पार्टी चल्नुपर्नेमा दुई जना (दाहाल, नेपाल) ले जे मन लाग्यो, त्यही गर्नुभएको छ ।’ नेकपाले सिन्धुली–२ बाट लेखनाथ दाहालविरुद्ध महेश्वर दाहालले उम्मेदवारी दिएपछि गजुरेलसहित महेश्वरलाई कारबाही गरेको थियो ।
खनालले पार्टीका वरिष्ठ नेतामाथि कारबाही गर्दा पार्टीभित्र कुनै छलफल नै नगरेको उल्लेख गर्दै यसलाई विधि विपरीतको कार्य भएको बताए । वरिष्ठ नेतालाई कारबाही गर्दा पार्टीभित्र छलफल हुनुपर्थ्यो । एकै पटक कारबाही गर्नु अनौठो भयो,’ उनले भने, ‘पार्टी, नीति, विधि र सिद्धान्तको संयोजन भए मात्र पार्टी निर्माण हुन्छ ।’
हरिबोल गजुरेलमाथिको कारबाही गम्भीर विषय भएकाले पार्टीभित्र छलफल गर्नुपर्ने उनको भनाइ छ । नेकपा प्रवक्ता अग्नि सापकोटाले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिन समर्थन गरेकाले गजुरेललगायतका नेतालाई कारबाही गरिएको बताए । ‘त्यो कारबाहीबारे झलनाथजीले असन्तुष्टि राख्नुभएको सुनेँ,’ उनले भने ।
संयोजक र सहसंयोजकले मात्र पार्टी चलाएपछि एकता गरेका २० दल र समूहका नेताहरूमा भ्रम पर्न सक्ने उनले बताए । पार्टीको आन्तरिक एकतालाई बलियो बनाउन विधि र प्रक्रिया राम्रोसँग कार्यान्वयन गर्नुपर्छ,’ उनको भनाइ छ ।दाहाल पक्षले भने सिन्धुली–२ बाट टिकट नपाएपछि गजुरेलले बागी उम्मेदवार उठाएको आरोप लगाएको छ । त्यसलाई गजुरेलले खण्डन गरेका छन् ।
‘मैले टिकट नपाएर विद्रोही उम्मेदवारलाई सिफारिस गरेको होइन,’ उनले भने, ‘मैले विधिका लागि विद्रोह गरेको हुँ । उनले शनिबार सिन्धुली–२ मा बागी उम्मेदवार उठाएर विद्रोह गरेका थिए । आइतबार उनीसहित उम्मेदवार महेश्वर दाहाललाई साधारण सदस्य नरहने गरी निष्कासन गरिएको थियो ।
कारबाहीमा परेका नेता गजुरेलले ‘अवसरवादीले घर कब्जा गरेको आरोप लगाए । विचार, राजनीति र विधिअनुसार पार्टी चल्नुपर्छ भन्नेहरूलाई अवसरवादीले घरबाट निकाले,’ उनले भने अब शक्ति आर्जन गरेर घर बनाउने पक्षमा छौँ ।’
पार्टी निर्माणबारे अहिले निर्णयमा नपुगेको उल्लेख गर्दै आगामी विचार र राजनीतिक निर्माणबारे छलफल भइरहेको उनले बताए । पूर्व माओवादीका उपमहासचिव रहेका गजुरेल संयोजक दाहालका सहकर्मी हुन् । दश वर्षे सशस्त्र युद्धदेखि निर्णायक भूमिकामा रहेका गजुरेललाई सिन्धुली–२ मा बागी उम्मेदवार उठाएको भन्दै दाहालले कारबाही गरेका छन् ।
तत्कालीन माओवादी उपाध्यक्ष मोहन वैद्यले २०६९ मा पार्टी विभाजन गर्दा गजुरेल संस्थापन पक्षमा खुलेर लागेका थिए । गत असारमा तत्कालीन उपमहासचिव जनार्दन शर्माले फरक मत राख्दा गजुरेल दाहालको पक्षमा उभिएका थिए । २०७९ मा दाहाल प्रधानमन्त्री भएका बेला गजुरेल १० महिना राजनीतिक सल्लाहकार बनेका थिए । दाहाल र उनका निकटहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले पछि राजीनामा दिएका थिए ।

