शुक्रबार फागुन १५, २०८२।
अर्घाखाँची: जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले फागु पूर्णिमा (होली) पर्व सभ्य, मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन जिल्लावासी सबैलाई अनुरोध गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी झविन्द्र भट्टराईले विज्ञप्ति जारी गरि साे जानकारी गराउनु भएकाे हाे ।
कार्यालयले जारी गरेको सूचनामा फागु पूर्णिमा तथा होली पर्वको अवसरमा आपसी सद्भाव, मेलमिलाप र सामाजिक एकता अभिवृद्धि हुने गरी पर्व मनाउन आग्रह गरिएको छ। पर्वको नाममा कसैको इच्छा विपरीत रंग लगाउने, लोला हान्ने, बाटोमा हिँड्ने बटुवालाई दुःख दिने, रासायनिक रंग प्रयोग गर्ने, बाटो अवरुद्ध गर्ने, सवारी साधनबाट रकम असुल्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता कार्य नगर्न भनिएको छ।
त्यस्तै, कसैको व्यक्तिगत जीवन, धार्मिक आस्था तथा सामाजिक सद्भावमा नकारात्मक असर पर्ने खालका उच्छृङ्खल, अवाञ्छित र अराजक गतिविधि नगर्न/नगराउन पनि अनुरोध गरिएको छ।
सूचनामा निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकलाई आग्रह गर्दै मिति २०८२ फागुन १८ गते राति १२:०० बजेदेखि मौन अवधि सुरु हुने र फागुन १९ गते (होलीकै दिन) कुनै पनि किसिमको चुनावी प्रचार–प्रसार नगर्न स्पष्ट गरिएको छ।
यदि कसैले कानून विपरीत गतिविधि गरेमा प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

