बुधबार ३ असार २०८३ ।
काठमाडौं : प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथिको छलफलका क्रममा बुधबार संसद्मा रमाइलो दृश्य देखियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा सभामुख, मन्त्री र सांसदहरूबिच रोचक जुहारी चलेको हो।
सांसद राईले आफ्नो स्पष्टीकरण पुन: दोहोर्याउन खोजेपछि सभामुख डोलप्रसाद अर्यालले स्पष्टीकरणमाथि स्पष्टीकरण नहुने भन्दै उनलाई बस्न अनुरोध गरे। तर राईले बस्न मानेनन्। सभामुख अर्यालले वादविवाद नगर्न र हल, सभामुख तथा मन्त्री सबैलाई विषयको जानकारी भइसकेको भन्दै बस्न पटक-पटक आग्रह गरे पनि राई उभिरहेका थिए।
सोही समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नियमावलीको प्रश्न उठाउँदै राईको अडानलाई ‘बालहठ’को संज्ञा दिए। प्रतिनिधि सभा नियमावलीको नियम ५४ र ५५ को हवाला दिँदै झाले भने, ‘मन्त्रीले उत्तर दिइसकेर ‘मेरो उत्तर यही हो’ भन्न पाउनुहुन्छ। त्यसैले सम्बन्धित सांसदलाई पटक-पटक बालहठ नगर्न सभामुखमार्फत अनुरोध गर्दछु, नियम पढ्नुस्।’
लगत्तै श्रम संस्कृति पार्टीकै अर्का सांसद ध्रुवराज राईले पनि नियमावलीको नियम ५४ कै प्रसंग निकाल्दै राष्ट्रियताको विषयमा छलफल हुँदा राष्ट्रको हित विपरीत हुन नहुने आशय व्यक्त गर्दै अध्ययनका लागि झालाई नै अनुरोध गरे।
सांसद राईले भने नियमावलीभन्दा देशको संविधान ठुलो हुने भन्दै जवाफ माग गरिरहे। उता, सभामुख अर्यालले संसद् अगाडि बढाउन सहयोग गर्न आग्रह गर्दै राईलाई मन्त्रालयमै गएर भए पनि प्रश्न सोध्न सुझाव दिए। सभामुखले भने, ‘यदि प्रश्नको जवाफ नआएको महसुस भएको छ भने मन्त्रीलाई मन्त्रालयमा गएर पनि प्रश्न राख्न सक्नुहुनेछ। आगामी दिनमा पनि मन्त्रीले जवाफ दिने नै हुनुहुन्छ, अहिले यो बुँदाबाट हामी अगाडि बढिसक्यौँ।’
श्रम संस्कृति पार्टीको विरोधबिच सभामुखले सो विषयलाई थाती राख्दै कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीलाई आफ्नो मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिँदै बैठक अगाडि बढाए। अहिले विरोध जारी रहँदा अन्य मन्त्रीहरूले जवाफ दिने क्रम चलिरहेको छ।

